नवलपुर । दुई हप्ता अघि दुईवटा गैँडा मारेको आरोपमा पक्राउ परेका ८ जना आरोपीलाई चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आरोपीमध्ये ६ जनालाई मङ्सिर ९ गते तथा दुई जनालाई मङ्सिर ११ गते चितवनको राप्ती नगरपालिकाबाट पक्राउ गरेको थियो।
पक्राउ परेका आठै जनालाई मङ्सिर ९ गतेबाट लागू हुने गरी ७ दिनको म्याद थप गरी निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण-पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारेर गैँडाको खाग बिक्रीका लागि लैजाँदै गर्दा खाग सहित उनीहरुलाई पक्राउ गरिएको हो।
अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।
गैँडा मृत भेटिएको १० दिन नबित्दै टोलीले मकवानपुर र चितवनका आठै जनालाई चितवनको राप्ती नगरपालिका-५ र ६ बाट पक्राउ गरेको हो। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनअनुसार बस्तीबाट नजिकैको क्षेत्रफलमा गैँडा मारिएको भए पनि त्यहाँ मानिसको आवतजावत नहुने तथा पछिल्लो ७ दिनदेखि सेनाको गस्ती टोलीसमेत नपुगेको देखिएको महानिर्देशक ढुङ्गानाले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १६:५८