काठमाडौ । एएफसी महिला एशिया कप छनौट प्रतियोगिताका लागि नेपाल समूह 'एफ’ मा परेको छ।
एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा आज सार्वजनिक गरेको 'ड्र’ अनुसार नेपालको समूहमा हङकङ र फिलिपिन्स छन्।
समूहको विजेताले आगामी वर्ष भारतमा सञ्चालन हुने एएफसी महिला एशिया कप खेल्नेछ। छनौट प्रतियोगिता आगामी भदौमा हुनेछ। प्रतियोगितामा सहभागी हुने देशलाई ८ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष टोलीले एएफसी महिला एशिया कपमा भाग लिन पाउने छ। साविक विजेता जापान, अष्ट्रेलिया, चीन र आयोजक भारत सो प्रतियोगिताका लागि छनाैट भइसकेका छन् ।
छनौट प्रतियोगिताको समूह ए मा चिनियाँ ताइपेइ, बहराइन, तुर्किमिनिस्तान र लाओस, समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान, समूह सीमा प्रजग कोरिया, सिंगापुर, इराक र इण्डोनेशिया, समूह डीमा म्यानमा, युनाइटेड अरब इमिरेट्स, ग्वाम र लेबनान, समूह इ मा गणतन्त्र कोरिया, उज्वेकिस्तान र मंगोलिया, समूह जीमा जोर्डन, इरान र बंगलादेश तथा समूह एचमा थाइल्याण्ड, प्यालेस्टाइन र मलेसिया छन्।
एएफसी महिला एशिया कप सन् २०२२ जनवरी तेस्रो सातादेखि भारतमा हुने एएफसीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८ २१:५१