काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ।
आज पनि नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर २ हजार १ सय ४१ दशमलव ८७ मा पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ९३ अङ्कले उकालो लागेर ४ सय २ दशमलव ६३ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ।
कूल १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता शेयर ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ।
सोल्टी होटल २४ करोड ५३ लाख ७७ हजार ६ सय ४०, सोनापुर मिनरल्स २० करोड १५ लाख २४ हजार ३ सय ९१, हिमाल दोलखा हाइड्रोपावर १८ करोड १३ लाख २३ हजार ७ सय ६ र नेपाल पूर्वाधार बैंक १७ करोड ५४ लाख ८३ हजार ५ सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, कुमारी धनवृद्धि योजना ३ दशमलव ८२, नेरुडे लघुवित्त ३ दशमलव ६५, माथिल्लो मैलुङ ३ दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३ दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३ दशमलव ३९ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० २१:२४