काठमाडौं । नेपाल ओलम्पिक कमिटी र कामरु ट्रेडिङबीच प्रायोजनको सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरुले टोकियो ओलम्पिक २०२१ मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सबै पोशाक प्रायोजन गर्ने भएको छ ।
प्रायोजनको सम्झौतामा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुका निर्देशक प्रदीप न्यौपानले हस्ताक्षर गरेको हो। सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिँदै कामरुसँगको अनुबन्ध भविष्यमा दीर्घकालीन हुने विश्वास व्यक्त गरेका थिए ।
कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले कामरुसँगको अनुबन्ध शुरुवात मात्र रहेको बताएका थिए भने कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोषाक प्रायोजन गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा कमिटीका सदस्य तथा मार्केटिङ एन्ड स्पोनसर कमिटीका संयोजक गोपाल कक्षपतिले नेपाली खेलकुदका विकासका लागि यस प्रकारको प्रायोजन बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव दीपकहर्ष वज्राचार्यको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८ २३:२६