काठमाडौ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमानमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १२, २०७८ १२:४२