म्याग्दी । मालिका गाउँपालिका-४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग गरेको छ।
च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेको हो।
घनमायाले आफ्नो नामबाट १ लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा १ लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा ५० हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तिमगरले बताए।
घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप ५०/५० हजार नगद उपलब्ध गराए। घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेको थियो।
घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष ५० हजार सहयोग गरेको थियो भने उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार सहयोग गरेको थियो । सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए।
चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाअध्यक्ष पुनले बताए। सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएको थियो।
विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत सङ्घसंस्थाहरुले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए।
विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताए। कक्षा १० सम्म पढाइ हुने विद्यालयमा १ सय २७ विद्यार्थी छन्।
अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६ सय ४३ सङ्कलन भएको छ।
सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १४:३४