सुनसरी । विश्व पर्यटन दिवसको अवसर पारेर तीन महिनाअघि चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी कोसीटप्पु वन्यजन्तु आरक्ष ल्याइएका दुर्लभ एकसिंगे गैंडा पुष्पा र अञ्जली अहिले वयस्क हुने क्रममा छन्।
पथरी सेक्टरको खोर (इन्क्लोजर)मा राखिएका दुवै गैंडाको स्वास्थ्य अवस्था अहिले सामान्य छ। पुष्पाको उमेर अहिले लगभग साढे चार वर्ष पुगेको छ भने अञ्जलीको साढे तीन वर्ष। उमेर बढेसँगै पुष्पाको हाउभाउ तथा आचरणमा परिवर्तन देखिन थालेको छ।
कोसीटप्पुमा जंगलकै वातावरणमा हुर्किरहेका गैंडामध्ये पुष्पाको उमेर बढेसँगै भाले चाहिले अवस्था हुन लागेको र यो भालेबिना अपुरो हुने आरक्षका संरक्षण अधिकृत रमेश यादवले जानकारी दिए। यादव भन्छन्, ‘उसको आचरण र हाउभावले त्यस्तो संकेत गरिरहेको छ।’
उनले चितवनबाट भाले गैंडा ल्याउने तयारी भइरहेको पनि बताए। ‘विभागतिर कुरा गरे चाँडै भाले गैंडा ल्याउँछौँ,’ यादवले भने, ‘तयारी गरिसकेका छौँ, विभाग, मन्त्रालयतिर कुरा भइसकेको छ । निकट भविष्यमा तुरुन्त आउँछ।’
भाले गैंडा ल्याइसकेपछि फेरि ‘इन्क्लोजर’ बनाएर जंगलतिर राखिने उनी बताउँछन्। घाँसे मैदान बढी भएको आरक्षको सप्तरीस्थित पथरी सेक्टर गैंडाका लागि उपयुक्त भएको यादव बताउँछन्।
यादवका अनुसार वर्षाको समयमा आरक्षको सुनसरीतिरको क्षेत्रमा घाँसे मैदान डुबान हुने समस्या छ भने पथरी सेक्टरमा त्यस्तो समस्या छैन।
गैंडा ल्याइएको तीन महिनाको अवधिको उनीहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको यादवले जानकारी दिए। उनका अनुसार चितवनमा अतिरिक्त पोषक तत्व खाएर ‘सेमी वाइल्ड’ अवस्थामाहुर्किएको गैंडा यहाँ ल्याइएसकेपछि जंगलमा चराउँदै ‘वाइल्ड कन्डिसन’मा राखिएको यादव बताउँछन्।
यादव भन्छन्, ‘हात्तीसँगै जंगलमा जान्छ, चर्छ, घाँस मात्र खान्छ। अतिरिक्त फलपूmल तथा औषधि केही पनि दिइएको छैन।’ आरक्षमा गैंडा ल्याइएपछि पर्यटकको संख्यामा पनि वृद्धि भएको छ।
अर्ना र चर्रा हेर्न मात्र पर्यटक आउने गरेकामा अहिले पर्यटकीय गतिविधि बढेको यादवको अनुभव छ। गैंडा हेर्नका लागि कोसी तथा मधेस प्रदेशका आन्तरिक पर्यटक आउने गरेका छन्।
‘यसलाई कसरी दिगो बनाउने हो भन्नेतर्फ हामीहरू लागिरहेका छौँ,’ यादव भन्छन्। गैंडासँग पर्यटन जोड्नका लागिसमुदायमा होमस्टे सुरु गर्न पनि पहल भइरेहको संरक्षण अधिकृत यादवले जानकारी दिए।
पुष्पाको आचरणमा निकै परिवर्तन आएको गैंडाका हेरालु दुर्गानन्द यादवको पनि अनुभव छ। पुष्पाले छेउछाउमा मान्छे आए आक्रमण गर्न खोज्ने उनी बताउँछन्।
उनका अनुसार जंगलमा चर्न जाँदा काँडाले घोचेर हुने सानोतिना घाउबाहेक अरु खासै समस्या देखिएको छैन। ‘त्यसका लागि दिनको दुईपटक औषधि लगाउने गर्छु,’ यादव भन्छन्।
चितवनबाट ल्याउँदाभन्दा अहिले दुवै अर्ना मोटाएको उनले बताए। गैंडाले अहिले खयर, कदम, पिपल, बर, खाइरहेको यादव बताउँछन्। उनका अनुसार अर्ना बिहान तथा दिउँसोको समयमा भन्दा राति चर्न रुचाउँछ।
संस्कृति वातावरण तथा वन्यजन्तु संरक्षण समूह (युचेप) नेपालका अध्यक्ष रविन घिमिरे कोसीटप्पुमा गैंडा ल्याइएपछि वातावरण तथा संरक्षणको क्षेत्रका एउटा इँटा थपिएको बताउँछन्। घिमिरे भन्छन्, ‘यसले सामाजिक तथा वातावरणीय हिसाबमा सकारात्मक प्रभाव पारेको छ र आन्तरिक पर्यटक पनि बढेको छ।’
गैंडा राखिएको सप्तरीको पथरी सेक्टर पुग्न यातायात सहज बनाइए पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्न सकिने घिमिरे बताउँछन्। घिमिरे भन्छन्, ‘गैंडा हेर्नकै लागि चितवन पुग्नुपर्ने अवस्था अन्त्य हुँदा यहाँका आन्तरिक पर्यटकहरुमा एककिसिमको उत्साह थपिएको छ।’
कोसीटप्पुको पश्चिमी क्षेत्रलाई व्यवस्थित गरी जनस्तरमा सचेतना फैलाईसंरक्षणको विषयमा स्थानीयलाई पनि सहभागी गराउन सके प्रभावकारी हुने घिमिरे बताउँछन्। आरक्षको क्षेत्र विस्तार गरी यहाँ अन्य वन्यजन्तुहरु जस्तै, बाघ, बाह्रसिंगे ल्याउन सकिने अवस्था रहेको घिमिरेको सुझाव छ।
सन् १९६० मा कोसीटप्पु क्षेत्रमा बाघ पनि देखिएको उनी बताउँछन्। घिमिरेका अनुसार अबका दिनमामध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने हानिनोक्सानी कम गरेर त्यसबाट हुने फाइदाको उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ।
चितवन राष्ट्रिय निकुन्जमा माउबाट छुट्टिएर अलपत्र परेका यी गैंडालाई उद्दार गरी औषधोपचार र स्याहारसुसार गरिएको अवस्थामा कोसीटप्पुमा ल्याइएको हो।
मानवीय र कृषकको बालीनाली क्षति गर्ने सम्भावना बढेकाले तथा कोसीटप्पुमा गैंडाको बासस्थानका लागि सुहाउँदो वातावरण भएकाले पनि उनीहरुलाई स्थानान्तरण गर्ने निर्णय गरिएको थियो।
यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गैंडा स्थानान्तरण भइसकेका छन्।