काठमाडौं । बालकुमारी घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई गृहमन्त्रालयले एक्सन लिएको छ।
गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानेको छ।
त्यस्तै ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको छ। छानविन समितिको काम प्रभावकारी ढंगले अघि बढाउन दुबै जनाको जिम्मेवारी खोसेको गृहमन्त्रालयको भनाइ छ। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ।
त्यसैगरी घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको गृहले जानकारी दिएको छ।
शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० २०:४०