काठमाडौं । निर्देशक निश्चल बस्नेतले पछिल्लो फिल्म ‘दिमाग खराब’को दोस्रो श्रृंखला ल्याउने घोषणा गरेका छन्।
प्रदर्शनको ५१ औं दिन मनाउने क्रममा आज शनिबार आयोजित समारोहमा उनले २०८३ सालको दशैंमा सिक्वेल ल्याउने बताएकाे हाे।
यसबारे उनले भने, ‘ढुक्क हुनूस सिक्वेल आउँछ। २०८३ सालको दशैंमा आउँछ। हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय त्यसमा हुनेछ। अहिले भनिहाल्ने अवस्था छैन। तर, त्यो समयलाई टार्गेट गरेर आउँछ।’
‘दिमाग खराब’ले न्यूरोडको रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ दिन मनाएको थियो। फिल्मले अहिलेसम्म १० करोड हाराहारीमा कमाइ गरेको निश्चलको भनाइ छ। कलाकार, निर्माता र वितरकले केक काटेर ‘दिमाग खराब’को सफलता सेलिव्रेट गरे।
अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’ ५१ दिन मनाउने आफू अभिनित पहिलो फिल्म भएको बताए। ‘यो पहिलो फिल्म नै हो। यसअघि ४९ दिनसम्म मनाएको याद छ। एकदमै खुशि छु’ उनले भने। फिल्ममा लामिछानेको शीर्ष भूमिका छ।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शकीय प्रतिक्रियाले आफू उत्साहित रहेको बताइन्। ‘पहिलो साता हामीलाई निकै कठिन भएको थियो। स्लिपलेस नाइट रहे। निर्माता निर्देशक पनि आफ्नै घरको भएकाले ५१ दिनसम्म आइपुग्दा निकै उतारचढाव भोग्नुपर्यो’ उनले भनिन्।
अभिनेता दयाहाङ राईले फिल्मले सयदिन मनाउने आशा व्यक्त गरे। ‘मैले अभिनय गरेको वर्षको पहिलो फिल्म जारीले १०० दिन मनाएको थियो। यसले पनि सयदिन पक्कै मनाउँछ। मुख्यतः हाम्रो कारणले गरेको कामको परिणाम सुखद आउनु ठूलो कुरा हो’ उनले भने ।
सो अवसरमा निर्माताले कलाकार र क्रिउलाई सम्मानपत्र वितरण गरेका थिए। तिहार छेकोमा यो फिल्म कात्तिक २४ गते देशब्यापी प्रदर्शन भएको थियो। नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० २०:५७