काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक १ दशमलव २८ प्रतिशतले घटेर २ हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो।
आज ३ सय ४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता शेयर ९८ हजार ६ सय ३२ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूहको उपसूचक १ दशमलव ३ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह २ दशमलव ४० र व्यापार समूह २ दशमलव १४ प्रतिशतले घटेका हुन्।
आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४ सय ४ बराबरको ५ लाख ५७ हजार १ सय ५९ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १६:५५