आमाको राम्रो 'म' बाट शुरु भएको मेरो जिन्दगी मेरै वरिपरि मलाई नै परिभाषित गर्न खोज्दै दौडिरहेछ, निरन्तर मेरै तालमा मेरै वेगमा। आमाले मलाई राम्रो देखेपनि मलाई हरिलन्ठक भन्नेहरुको कमि थिएन मेरो शुरुवाती दिनहरुमा। बाबाले खै के देख्नुहुन्थ्यो म मा, मलाई संधै 'मेरो नाक' भन्नुहुन्थ्यो।
म उनको नाक कसरी भए भनेर सोच्दासोच्दै बिद्यालय पुग्थे जहाँ मेरा गुरु मेरो टाउकोमा गिदीको सट्टा गोबर भरिएको उदाहरण सबै सामु प्रस्तुत गर्थे। आमाको राम्रो म अनि बाबाको नाक तर गुरुले मलाई सिर्फ एउटा गोबरको डल्लो भन्दा बढी केहि पनि देखेनन्।
त्यहि गोबरको डल्लो पनि भुत्ले कपालले ढाकिएको अनि धारामा पानीको खडेरी पर्दा नुहाउन नपाई जुम्रा र लिखाहरुको सिंगो संसार बन्न पुग्थे। ति दिनहरुमा सबैको घृणा पात्र बन्न पुग्दा म विना टाउको नै किन नजन्मिएको होला भन्दै आफैलाई धिक्कार्न पुग्थे।
आमालाई संसारकै सबैभन्दा राम्रो लाग्ने अनुहार बोकेको मेरो टाउको म आफैलाई भारी लाग्न थालेको मेरो ति वालपनका दिनहरु प्राय अर्थहिन नै गुज्रिएका थिए भन्दा अत्युक्ति नहोला।
मनमा उर्लेका तरंगहरुमा अल्मलिदै आमा र बाबाको आशाको किरण म गुरुको अगाडि आइपुग्दासम्म सेलाई सकेको हुन्थे। यी तीन जनाको त्रिकोणमा एउटा कुनाबाट अर्को कुना ठक्कर खाँदाखाँदै कतिखेर वालपन सकिएछ पत्तै भएन।
वालपनबाट जवानी को खुड्किलो चढ्दा आफूलाई सिनेमाको 'हिरो' नठानेको होइन मैले पनि। त्यसैको फलस्वरूप होला तरुनीहरुको अघि पछि लाग्दै रत्तिभर पनि ज्ञान नभएका बिषयमा उपबुज्रुक भएर उफ्रिनु र राजनीतिको जोड घटाउमा आफूलाई माहिर बताउनु मेरो दिनचर्या बनेका थिए।
कलेजका कक्षाहरुमा उपस्थित नहुनु, तरुनीहरुको पछि-पछि शहरको परिक्रमा गर्नु, जिन्दाबाद र मुर्दाबादको नारामा ढुंगा बोक्दै निशाना हान्ने अभ्यास गर्नु अनि चुरोटको धुवाँमा बा, आमाका सपनाहरु उडाई दिनु शायद त्यहि गोबरको डल्लोको नै उपलब्धि हुनसक्छ। गुरुले दिएको गोबरको डल्लोको संज्ञा मेरो जवानी कालसम्म पनि म सँगै साथसाथ हिडिरहेको थियो। अनि यसै साथ हिडिरहेको थियो मेरो गजबका विचारहरु र योजनाहरु।
बा ले ठूलो मान्छे बन्नु पर्छ भनेको कुरालाई चरितार्थ गर्न म दिनहुँ योजना बनाउने गर्थे अनि दिनहुँ उनलाई सम्झन्थे। आमालाई राम्रो भए पुग्ने तर बालाई नाक राख्ने हुनु जरुरि थियो। आमा, बा को चपेटामा पर्दा, म राम्रो बन्ने धुनमा घन्टौ ऐना अगाडी उभिन्थे भने ठुलो बन्ने शुरमा अनेक थरि उटपट्याङ्ग्ग कुरा गर्न पुग्थे।
आजभोलि राजनीति पनि उटपट्याङ्ग्ग नै लाग्छ मलाई। त्यसैले त्यही गर्दैछु। प्रधानमन्त्री बन्ने योजना छ। पढ्न पनि नपर्ने, टाउकोमा जे भरिएको भएपनि फरक नपर्ने अनि ठूलो मान्छे पनि भइने। ढिलै भएपनि बाको नाक राख्न पाइने वातावरण बनेको छ।
आमाको राम्रो छोरो म ठूलो मान्छे बन्ने बाटोमा हिड्दै छु। गुरुले संज्ञा दिएको गोबरको डल्लो अहिले सिङ्गै देशमा राज गर्ने राजनीतिज्ञ बन्ने तरखर गर्दैछ। धेरै चोटी नराम्रो 'म' भए पनि, अब राम्रो 'म' बन्दैछु।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० १०:५९