काठमाडौँ । यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् २ दशमलव ५७ प्रतिशतले बढेर २ हजार १ सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको हो।
आज ३ सय ४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर १ लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेका सबै सूचक तथा उपसूचकहरु हरियो देखिएका छन्। सेन्सेटिभ इन्डेक्स २ दशमलव ३८, फ्लोट इन्डेक्स २ दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५९ प्रतिशतले बढेको छ।
सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै वित्त समूहको उपसूचक ४ दशमलव ७५ र लगानी समूहको उपसूचक ३ दशमलव ७० प्रतिशतले बढेका छन्।
पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार १ सय ३४ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १७:०५