काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु-१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
आज भएको खेलमा नेपाललाई पाकिस्तानले ५ विकेटले हराएको हो। जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
उक्त विजय लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा ४७ दशमलव ४ ओभरमा पूरा गर्याे। पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाएका थिए।
बलिङतर्फ नेपालका आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश काडेलले १/१ विकेट लिएका थिए।
यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिएका थिए।
उनले ६८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा १ छक्कासहित २६ रन बनाएका थिए।
कप्तान देव खनालले ३७ बलमा ३ चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाएका थिए।
बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले २/२ तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले १/१ विकेट लिएका थिए।
प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो।
नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० २२:४२