जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ।
आज बिहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा ३ सय ७४ मतदातामध्ये ३ सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए।
मधेश प्रदेशसभाका १ सय ७ सदस्यमध्ये १ सय ६ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ २ सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताए।
मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ।
जनकपुरधाम उपमहानगरपालिका-४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ। अन्य (खुला) र महिलातर्फका २ सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा हुन्।
दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार हुन्।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १५:४३