मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएको छ।
अन्य समूहबाट कांग्रेसका सिटौलाले ५ हजार २ सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले ४ हजार ५ सय २६ र नेकपा (एमाले) का पर्शुराम अधिकारी १ सय २९ मतभार प्राप्त गरेको साँझ निर्वाचन परिणाम घोषणामा निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिएको हो।
यसैगरी महिला समूहतर्फ नेकपा (एमाले)की रुकमणी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरी विजयी भए भने नेकपा (माओवादीकेन्द्र) की चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरे। निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
प्रदेश निर्वाचन कार्यालय विराटनगर-१० मा रहेको मतदान केन्द्र विहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र १ सय ३७ पालिकाका २ सय ७४ मतदातामध्ये २ सय ७१ ले मतदान गरे।
मतदानमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले मतदान गरेन। साथै मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार विरामी तथा झापाका झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा रहेकाले मतदान गरेन।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० २०:२७