काठमाडौँ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो
दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।
नेपालले १ सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पुरा गर्याे। नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेलेका थिए।
उनले ७३ बल खेल्ने क्रममा ७ चौकाको मद्दतमा ५८ रन बनाए। यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए।
बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले ३, खलिल अहमद र नासिर खानले २/२ तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिएका थिए।
यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिँदै उनले २१ बल खेल्ने क्रममा ४ चौका र ३ छक्का हिर्काएका थिए।
त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ३१ रन बनाए भने फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाएका थिए।
बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए। यस्तै दिपेश कँडेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले १/१ विकेट लिएका थिए।
नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेका भारत र बङ्गलादेशसँग दोस्रो चरणको खेल खेल्ने छ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० २१:५७