महोत्तरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताएको छ।
महोत्तरीको जलेश्वरमा नेकपा (एमाले) को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताएको हो।
“हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौं”, अध्यक्ष ओलीले भने। उनले आफू नेतृत्वको सरकारले थालेका विकास-निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाए।
अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरे। “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उनले भने।जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उनको भनाइ थियो।
एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने जनाउँदै उनीहरुले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने बताएका थिए।
एमाले महोत्तरीका सङ्गठन कमिटीका संयोजक कालीचन्द्र साहको अध्यक्षतामा भएको थियो। एमाले अधिवेशनको बन्दसत्र हिजो रातिदेखि प्रारम्भ भई आज सम्ममा नयाँ नेतृत्व निर्वाचित गरी सम्पन्न हुनेछ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० ०९:३५