-श्याम स्मृत
नेपालमा हालसम्म कोभिड–१९ बाट करिब ६ लाख संक्रमित भइसेका छन् भने करिब ६८ हजार सक्रिय संक्रमित छन्। लगभग ८ हजार जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै करिब ५ लाखभन्दा बढी निको भएका छन्। यो आँकडाले नेपाल जस्तो सानो गरीब मुलुकको लागि कोभिड-१९ को महामारीवाट बच्नका लागि सहज उपाय भनेको हाललाई कोभिड–१९ विरुद्धको खोप नै हो।
यो खोप पाउनका लागि पनि अनेक उपाय गर्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो। अझ नेपालमा खोपको नाममा राजनीति भएको छ। आम नेपाली जनतालाई सहज ढंगवाट खोप उपलव्ध गराएर कोभिड–१९ वाट बचाउनु पर्ने मानविय कार्यलाई बेवास्ता गरेको पाइएको छ। नातावाद, कृपावाद तथा आस्थावाद जस्ता अनेक वादमाझवाट खोपको राजनीतिको चर्को आगो सल्किएको छ।
त्यो चर्को राजनीतिको आगोले गर्दा गत फागुन २२ गतेपछि पहिलो भारतीय खोप लाएका ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले तीन महिना वितिसक्दा पनि दोश्रो खोप नपाउनु पराकाष्ठता नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो खोप लाएको आठ हप्ता पार हुन नहुने भनिएतापनि सरकार खोपको राजनीति गरेर ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले पाउनुपर्ने दोश्रो खोप नपाएर रुनु न हांस्नु भएको छ।
समय यसरी नै गुज्रदै गएमा पहिलो खोप लगाएको कुनै अर्थ नहुने र फेरि पहिलो खोपवाट दोहो¥याउनु पर्ने स्वास्थ्यविज्ञहरुको भनाई प्रकाशमा आइरहेको अवस्थामा सरकारले ती ज्येष्ठ नागरिकहरुले दोश्रो खोप पाउने हो या होइन ? त्यसको सुनिश्चितता हुनु आवश्यक छ। भारतवाट उक्त दोश्रो खोप ल्याउन नसक्ने नै भएमा मौजुदा चीनिया खोपको पहिलो र दोश्रो मात्रा लगाएर लाखौं ती ज्येष्ठ नागरिकहरुलाई सरकारले सुरक्षित पार्ने बैकल्पिक उपाय गर्न चुक्नु हुंदैन।
खासमा खोप सञ्चालन गर्दा कति मात्रा प्राप्त भएको छ, कति मात्रा प्रयोग गर्ने, कति मात्रा दोस्रो डोजलाइ खपत गर्ने, कस्तो व्यक्ति अथवा कुन उमेर समूहमा सञ्चालन गर्ने भन्नेबारे सबै सरोकारवालासँग छलफल गरी पूर्वतयारी गरेर मात्रै खोप सञ्चालन गर्नुपर्ने हुन्छ। जुन भएको देखिदैन । पूर्वतयारी र समन्वयको अभाव तडकारो रुपमा देखिएको छ। अर्कोतर्फ अस्थिर सरकार अर्को कारण हो।
कोभिड-१९ लहर चलेदेखि नेपालमा राष्ट्रिय राजनीतिको असर स्वास्थ्य मन्त्रालयमा पनि देखिएको छ। पहिलो चरणमा देखापरेको कोभिड-१९ देखि हालसम्म तीनपटक मन्त्रिपरिषद विस्तारले गर्दा तीनपटक नै स्वास्थ्यमन्त्री फेरिँदा मन्त्रालयले सही मार्गदर्शन पाउन सकेको देखिँदैन। बारम्बारको मन्त्री फेरबदलले कोभिड-१९ विरुद्ध पूर्वतयारी हुन नसक्नु, सही नीति कार्यान्वयन गर्न नसक्नु, अक्सिजनसहितको आइसोलेसन स्थापना गर्न नसक्नु, सक्रिय संक्रमित व्यवस्थापन गर्न र शव व्यस्थापनमा पनि सरकार पटक–पटक चुकिरहेको छ।
त्यसैगरी खोप आपूर्ति गर्न नसक्नु, प्राप्त खोपको सही व्यवस्थापन गर्न नसक्नुले पनि थप सकस पैदा गरेको छ। त्यसो त जनस्तरबाट खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन पटक–पटक सबैले बिभिन्न माध्यमबाट दबाब पनि नदिएका होइनन् तर सरकार मन्त्रिपरिषद र सत्ता जोगाउन मात्रै व्यस्त देखिन्छ। जुन विडम्बना हो।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८ ०७:१८