काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गत भदौ १८ गते फुक्का गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ ।
मन्त्री अर्यालले गरेको निर्णयको सर्वत्र विरोध भएपछि मन्त्रालयले उक्त निर्णयहरु एकसातापछि भदौ २५ गते बदर गरेको हो। मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरीत थियो।
मन्त्रालयका सहसचिव दीपकुमार पहाडीद्धारा हस्ताक्षरित २५ गतेको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका निर्णयहरु बदर गरिएको स्पष्ट पारिएको छ ।
त्यसैगरी मन्त्रालयले मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरिदिएको छ । त्यतिबेला मन्त्री अर्यालले कृषि बाहेकका अन्य जग्गाको कित्ताकाट खुल्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७ २०:३१