काठमाडौँ । फागुन स्सरकारले दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ।
अभियानअन्तर्गत काठमाडौँ जिल्लाका ५ लाख ९७ हजार ३ सय ५ जना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती वालबालिकालाई १ हजार ६ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताएका छन्।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि ५ वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।
काठमाडौँ महानगरपालिकामा २ लाख ५० हजार बालबालिका छन्। काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा ३ सय ३२ स्वास्थ्यकर्मी र ३ हजार १ जना स्वयंसेवक परिचालन गरिने छ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। यो ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा २ सय २५ जना सङ्क्रमित र १ जनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० २१:३१