तिम्रो अभावले दिन प्रति दिन
रित्तो र खोक्रो बन्दै छु
हिजो भन्दा आज धेरै
आज भन्दा भोलि झन् धेरै ।
अलिकति फुर्सद लिएर आउ
ताकी आँखा भरी भरी भर्न सकूँ
मुटुले निश्चित रुपमा धड्किन सकोस्
अंगालोमा हातहरुले कस्न सकोस्
र निस्फिक्रीले ओठहरुले छुन सकोस्
नशाहरुमा रक्तसञ्चार होस्
ताकी विलिन हुन सकोस्
र जीवनको समाप्ती होस् ।
भरोसा छैन जीवनको
खिस्रीक्क श्वास फुस्किन्छ
अनि सिधिन्छ जीवन
गलेको छ आशाहरु
जलेको छ मन
भतभति परिस्थितिले पोलेको छ
अध्याँरो छ जीवन र जगत
धेरै योजनाहरु भताभुंग होलान्
चाहानाले बनेको घर भत्केलान।
अचेल अचेत भइसके शरीर
आकांक्षाहरु रेटिएलान
बेलैमा फुर्सद निकाल
भिताहरुमा श्रद्धाञ्जलीका
अक्षरहरुले पोतिनु अगावै
भरोसाका पर्खाल लड्नु अगावै आउनु
ताकी अर्को जुनि पर्खीन नपरोस्
आत्माले पलपल भौतारिन नपरोस्
अलिकति फुर्सद लिएर आउ
ताकि प्रेम खन्याउन सकूँ रित्तिन सकूँ
र
भन्न सकूँ तिमी नै सर्वस्व मेरो !!
र
निस्फिक्री विदा लिन सकूँ जीवनसँग।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० ०८:२७