काठमाडौं। संगीत र गायन संगीतकारको पनि संगीतकार चाँद सिंहको जिन्दगीसंग जोडिएको नाम नै हो। संगीत र गायन चाँद सिंहको लागि बाँच्ने औषधि नै हो।
चाँद सिंह संगीत र गायनबाट कहिले पनि टाढा हुन नसक्ने मान्छे हुन्। चाँद सिंहलाई लाग्छ–उनी संगीतकै लागि बाँचेको मान्छे हो। संगीत नै चाँद सिंहको जीवन हो।
सानैबाट चाँद सिंहको सपना संगीत नै बन्यो। सानैदेखि उनलाई गाउन असाध्यै मन पर्दथ्यो। उनको रुचिको विषय नै संगीत भएकोले उनले यसलाई प्यासनकै रुपमा लिए । त्यही प्यासनले उनी गायक कम बढी संगीतकार भएको छ । अझ संगीतकारलाई संगीतकार बनाउने म्युजिक एरेञ्जर, कम्पोजर तथा रेकर्डिष्ट बनेको छ।
नेपालका नाम चलेका प्राय सवै संगीतकार गीतको एरेञ्जर, कम्पोजर भएर काम गरिसकेका उनले हालसम्म हजारौ हजार गीतको म्युजिक एरेञ्ज गरिसकेका छन्।
त्यतिकै मात्रामा कम्पोज गरिसकेका छन्। रेकर्ड तथा रेकर्डिङ त ३२ बर्ष लामो सांगीतिक यात्राको निरन्तरतामा कति गरियो गरियो...त्यो उनले गन्ती नै गर्न छाडिसकेका छन्।
नेपालीय संगीत आकाशका महान गायक तथा संगीतकार गोपाल योञ्जनको छत्रछायाँमा रहेर शुरुवातका दिनहरुमा काम गरेका चाँद सिंहको संगीतको कुनै आधिकारिक गुरु नभएतापनि गोपाल योञ्जन आफ्नो सांगीतिक करिअरको टर्निङ प्वाइन्ट भएको बताउछन्।
दार्जिलिङको कालिङपोङमा शिक्षादिक्षा सकाएर संगीतमा नै लाग्न विसं.२०४९ सालमा नेपाल फर्कदा संघर्षको बेला गोपाल योञ्जन आफ्नो सांगीतिक करिअरको छत्रछायाँ नै भएको उनले खुलासा गरेका छन्।
यसअर्थमा उनी गोपाल योञ्जनलाई गुरुभन्दा बढी सांगीतिक करिअरको मार्गदर्शक अनि प्रेरक भन्न रुचाउंछन्। उनको भनाईमा संगीत बाहेक उनले हालसम्म अरु केही सोचेका छैनन्। संगीतले नै हालसम्म आफूलाई बचाइराखेको भन्छन्। संगीत बाहेक उनको अर्को जब पनि नभएको बताउंछन्।
धेरै संगीतालय तथा रेकर्डिङ स्टुडियोमा काम गरेको पौरखी अनुभववाट विगत सात बर्षदेखि निरन्तर काठमाडौंको नक्साल भगवती बहालमा म्युजिक एण्ड भ्वाइस स्टुडियो स्थापना गरेर नेपाली संगीतको आकाशमा नौलो आयाम थप्ने कार्य गरिरहेका छन्।
प्रारम्भका दिनहरुमा म्युजिक एण्ड भ्वाइस स्टुडियोको उनी एकल संचालक थिए भने, हाल उनलाई उक्त स्टुडियोलाई अग्रता दिन चर्चित गायिका मञ्जु थापाको साथ रहेको छ।
गायिका थापा संचालकको रुपमा म्युजिक एण्ड भ्वाइस स्टुडियोमा प्रवेश भएपछि संगीतमा एकाग्र भएर म्युजिक कम्पोज, एरेञ्ज गर्नेदेखि विभिन्न गीतहरुमा संगीत दिन पर्याप्त समय पाएको वताउंछन्।
सानैदेखि गीत गायनमा रुचि भएतापनि थोरै गीत मात्र रेकर्ड गराएका चाँद सिंहले चर्चित गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा दशैं संवन्धी गाएको गीत अत्यन्त लोकप्रिय रहेको छ। त्यस्तै, उनले म्युजिक एरेञ्ज गरेको आनन्द कार्कीको हिट गीत जनम जनम लगायत सयौं छ।
धेरै संगीतकार अनि गायक-गायिकाका हिट गीतहरुका म्युजिक एरेञ्जर तथा कम्पोजर चाँद सिंहको संगीतमा दर्जनौ दर्जन गीत छन्। संगीतमा नै हरपल हरक्षण रमाउने उनी संगीतकारका पनि संगीतकार हुन्। संगीतको पर्दा पछाडिका हिरो नै हुन्।
संगीतकार चाँद सिंहको भनाईमा संगीत जीविकाको पथ, पेशा वा प्रसाधन नै हो। नेपालमा संगीत व्यवसायबाट बाँच्ने कलाकारहरू धेरै भइसकेका छन्।
दक्ष र क्षमतावान् कलाकारका लागि विश्वको कुनै पनि भागमा पुग्न र कला प्रस्तुत गर्न अहिले कुनै सारोगाह्रो देखिँदैन। त्यसैले हिजोआज संगीत मनोरञ्जन वा आमोद–प्रमोदको विषयवस्तु मात्र नभई जीवनको अपरिहार्य आधार भइसकेको छ।
आम मानिसले साधारण भाषामा ‘संगीत’ भन्नाले ‘बाजा बजाउनु’ मात्रै हो भन्ने बुझ्ने गरेका छन्। कसैले ‘गीत गाउनु’ र ‘बाजा बजाउनु’ पनि संगीत नै हो भन्ने ठान्छन्।
कसै कसैले गायन, वादन र गीत–रचना तीनै कुरालाई संगीतको समूल बुझेका हुन्छन्। संगीतकार पहिला गायक हुने गरेको तथ्यलाई चाँद सिंहले पनि नकारेका छैनन्। उनी आफूपनि गायनवाटै संगीतकार बनेको बताउंछन्।
कालिङपोङमा अध्ययनरत् हुंदा त्यहाँको माहोलले नै संगीतमा झुकाव बढाएको बताउने उनी त्यो बेला राम्रो गायक मात्र नभइकन राम्रो ड्रमर पनि हुन्।
ड्रम बजाउने तथा गीत गाउने बेग्लै खुवी भएका चाँद सिंहले कालिङपोङमा म्युजिक ब्याण्ड पनि स्थापना गरेका थिए। उक्त व्याण्ड मार्फत त्यो बेला राम्रो म्युजिक पर्फम गरेका उनले प्राचीन कालमा गायन, वादन र नाचको प्रयोग सँगसँगै गरिने गरिएकाले उक्त तीनै कलाको प्रयोगलाई संगीत भन्ने गरेको पाइएको भन्छन्।
पश्चिमी राष्ट्रहरूमा भने गायन र वादनलाई मात्रै संगीत भनी नाचलाई पृथक् राखिएको कुराको पनि उनले खुलासा गरेका छन्।
ललितकलालाई पाँच प्रकारमा विभाजन गरिएको छ— संगीतकला, चित्रकला, मूर्तिकला, नृत्यकला र वास्तुकला। यी पाँच भेदमध्ये संगीतकलालाई सर्वश्रेष्ठ ललितकला मानिएको छ। भनिन्छ, यसबाट मानसिक र आध्यात्मिक दुवै किसिमको आनन्द मिल्छ । संगीतका स्वरहरूको मीठो धुनलाई सुनेर हामी आनन्द लिन्छौं भनेर उनले भनेका छन्।
चाँद सिंहको बुझाईमा पूर्वीय संगीतविज्ञहरूले संगीतको उत्पत्ति नादबाट हुने मानेका छन्। नाद भनेको संगीत उपयोगी सुमधुर ध्वनि हो। कुनै बाजा बजाउँदा वा गायकको गलाबाट निस्कने स्थिर, मधुर तथा सुन्न लायक ध्वनिलाई नाद भनिन्छ।
तथापि, एक्काइसौँ शताब्दीमा आइपुग्दा सबै खाले ध्वनिहरू संगीतमा प्रयुक्त हुन थालेका छन्। संगीतमा स्वर–श्रुतिको महत्वपूर्ण भूमिका रहन्छ। श्रुति भनेको एकअर्कादेखि अलग तथा प्रष्ट रूपमा छुट्टिने ध्वनि हो।
पूर्वीय संगीत सिद्धान्त अनुसार बाइसवटा श्रुति छन्। यिनै श्रुतिमध्ये छानिएका सातवटा श्रुतिलाई स्वर भनिन्छ। यी सातवटा स्वरलाई ‘सा, रे, ग, म, प, ध, नि’ भनी उच्चारण गरिन्छ।
संसारमा अहिले लगभग तीन प्रकारका संगीत प्रचलित छन्-शास्त्रीय संगीत, आधुनिक संगीत र लोक संगीत। शास्त्रीय संगीत भनेको स्वरहरूको निश्चित विधि अनुसार राग-रागिनी गाउनु वा बजाउनु हो।
आधुनिक संगीतलाई शास्त्रीय संगीतभन्दा सरल र सुगम मानिन्छ र यसलाई भाव संगीत पनि भनिन्छ। यसमा गीत, वादन र गायनको प्रमुखता हुन्छ। लोक संगीतचाहिँ लोकले निर्माण वा विकास गरेको संगीत हो।
जो कुनै पनि भेग र भूगोल अनुसारको हुने गर्छ। नेपालमा शास्त्रीय संगीतभन्दा आधुनिक र लोक संगीततर्फ नै बढी आकर्षण देखिएको संगीतकार चाँद सिंहको भनाई छ।
र अन्त्यमा उनी संगीत विश्वभाषा नै भएको जिकिर गर्छन्। विश्वका सवै देशका आ–आफ्नै भाषा भएतापनि संगीतको भाषा एक हुने गर्दछन्। जसको कारण संगीतलाई सवैले बुझ्ने गरेको कारण यो विश्वभाषा नै हो भन्छन्।
संगीतको स्वास्थ्यमा गहिरो सम्बन्ध
बाल, जवान र वृद्ध सबैलाई संगीतको धुन मन पर्छ। बाल अवस्थामा बाल संगीत, जवानलाई मायाप्रितीका र बुढाबुढीलाई भक्ति-भजन मन पर्ने गर्छ। तर, हरेकले कुनै न कुनै रूपले यसबाट फाइदा लिइरहेका हुन्छन्।
संगीतले हाम्रो स्वास्थ्यमा गहिरो सम्बन्ध स्थापित गरेको हुन्छ। आफ्नो इच्छाअनुसारको संगीत सुनेर धेरै रोगको उपचार गर्न सकिन्छ। अझ उसको जीवनमा पर्ने प्रतिकूल असरलाई पनि कम गर्न सकिन्छ।
संगीत चिकित्सा शारीरिकभन्दा पनि मानसिक बिरामीका लागि बढी लाभदायक हुन्छ। संगीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने आथाह शक्ति भएकाले मानसिक रोगीहरू उत्साही वा आनन्दित हुन्छन्।
संगीत चिकित्साको प्रयोगबाट टाउकोको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुन्छ। यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ।
संगीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको संगीत सुनाएर दुवैखाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ।
घरायसी होस् या अन्यत्र, संगीतमय वातावरणले हाम्रो दिनचर्यामा महत्व राख्छ । घरायसी वातावरणदेखि कार्यालय, होटेल, यात्रा जहाँसुकै होस्, मनलाई आनन्दित, शान्त र खुसी तुल्याउन संगीत हाम्रो अगाडि आउँछ।
संगीतको धुनले एकत्रित गरी मनलाई शान्त बनाउँछ। र, हाम्रो मानसिक मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत लाभ पु-याउँछ।
संगीत विभिन्न समयमा मानिसले मुड स्वस्थ बनाइराख्न प्रयोग गरिरहेका हुन्छन्। विकसित राष्ट्रहरूमा संगीत चिकित्सालाई सम्मानित पेसाको रूपमा हेरिन्छ।
नेपालमा पनि संगीत चिकित्साको महत्व बुझेर जीवनमा उपयोग गर्न सके धेरै प्रकारका मानसिक समस्याबाट मुक्त हुन सकिन्छ ।
(नामी साप्ताहिकवाट साभार)
अनि याे पनि
नामी साप्ताहिक