म्याग्दी । गण्डकी प्रदेशको पर्वतको जलजला गाउँपालिका- नाग्लीवाङको ओडारे र बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधाम जोड्ने ५२४ मिटर लामो झोलुङ्ग पुल निर्माण भएको छ।
कालीगण्डकी नदीमाथि निर्माणको अन्तिम चरणमा रहेको पुल आवत जावतका लागि सञ्चालन भएको छ। पुल निर्माण भएसँगै करिब २ घण्टाको यात्रा १० मिनेटमा छोटिएको छ।
नाग्लीबाङवासीलाई बागलुङ बजारमा आवतजावत गर्न, बिरामी हुँदा छिटो अस्पताल पुग्न र कृषि उपज बजार लैजान सहज भएको छ। लामो पुल अवलोकन र वारपार गर्न आउने पर्यटकको चहलपहल बढेको छ।
दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने लक्ष्य सहित वि.सं. २०७९ असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याटबाहेक ८ करोड २३ लाख ४१ हजार ४ सय ११ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।
निर्माणलक्ष्य भन्दा ४ महिना अगावै पुल निर्माण सकिन लागेको हो। यो पुल एकल स्पानको सस्पेन्सन ब्रिजमध्ये विश्वकै दोस्रो लामो झोलुङ्गे पुल भएको दाबी गरिएको छ।
लमो र अग्लो झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङमा यसअघि बागलुङ नगरपालिका-१, रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका-१, अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १४:४३