भैरहवा, रुपन्देही । शिलान्यास भएको ९ महिनामै निजि लगानीमा क्रिकेट रङ्गशाला तयार भएकाे छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकल लगानीमा निजि रङ्गशाला निर्माण भएको हो।
अष्ट्रेलियामा बस्ने गुल्मीका विनोद कुँवरले तिलोत्तमा नगरपालिका-१७ दरखसवामा साढे ५ विगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाएको हो।
९ महिनामै तयार भएको उक्त रङ्गशालाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेको हो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सामाजिक काममा लगानी गर्न नेपालीहरु तयार हुनुपर्ने बताएका छन्।सरकारले लगानी गर्नुको सट्टा एक जना व्यक्तिले निजि लगानीमा ९ महिनामै क्रिकेट मैदान तयार गरेर सरकारलाई चुनौती दिएको संघीय सांसद चन्द्र भण्डारीले बताए।
२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानमा जग्गाबाहेक ७ करोड खर्च भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए। १८ करोडको लागतमा प्याराफिटको काम लगत्तै सुरू हुने पनि उनले बताए।
रङ्गशालाको दोस्रो चरणको काम शुरु भईसकेको छ। यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिने छ। चैतबाट साइडको सानो मैदानको काम पनि शुरु हुनेछ। जहाँ प्रशिक्षण गर्न मिल्नेछ।
अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खडकाले क्रिकेटका एकदिवसीय खेलहरु काठमाडौं बाहिर पनि आयोजना गर्दै लैजाने नेपाल क्रिकेट संघको योजनामा निजि लगानीका यस्ता रङ्गशालाहरुले सहयोग गर्ने बताए।
यसैबिच क्रिकेट मैदानको उद्घाटनको अवसर पारेर एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सम्पन्न भएको छ ।
टी-१० संरचनामा सञ्चालन भएको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, पूर्व कप्तान विनोद दासले रेस्ट अफ नेपालको र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेको थियो।
मैदानको उद्घाटन कार्यक्रममा पूर्व अर्थमन्त्री एवम नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल, पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलगायतले बोल्दै रंगशाला निर्माणले क्रिकेटको उर्वरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए।