भैरहवा, रुपन्देही । भैरहवा भन्सार कार्यालयले भारतीय ट्रकमा लुकाएर भारत लैजादै गरेको बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु ठूलो मात्रामा बरामद गरेको छ।
युपी ५३ बिटी ७८८३ नम्बरको ट्रकमा पोण्ड्स पाउडर ८ कार्टुन, डाबरको रेड टुथपेष्ट २४२ कार्टुन, क्लोज अप टुथपेष्ट १ सय कार्टुन र फेयर एण्ड लब्ली क्रिम १६ कार्टुन रहेको थियो। ट्रक बाहेक बरामद भएका सामाग्रीहरुको मात्र मूल्य २७ लाख ५० हजार ७ सय ६० रुपैया रहेको छ।
नेपालले उपभोग गर्ने गरि उत्पादन भईरहेको बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु अवैध रुपमा भारत जादै गर्दा बरामद भएको भने यो नै पहिलो पटक हैन। यस अघि पनि पुस ६ गते १६ लाख २८ हजार मूल्य बराबरको ३ सय ५९ कार्टुन क्लोज अप टुथपेष्ट भैरहवा भन्सार कार्यालयले बरामद गरेको थियो। यस बाहेक भारतीय प्रशासनले पनि पटक पटक भारत पुगेका यस्ता बहुराष्ट्रिय नेपाली उत्पादनहरु बरामद गर्ने गरेको छ।
भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा चोरी, पैठारी निकासी अभियोगमा भैरहवा भन्सार कार्यालय मार्फत मात्र ७२ वटा मुद्दा दर्ता भएका छन्।
भन्सार कार्यालय आफैले ८ करोड ८८ लाख १३ हजार ४ सय ३८ रुपैयाँको सामान बरामद गरेको छ। नेपाल प्रहरी र अन्य निकाय समेत गरि चालु आर्थिक बर्षमा मात्रै २२ करोड ३५ लाख १८ हजार ८ सय ३३ रुपैयाको समान बरामद भईसकेको छ।
यो भनेको नेपालबाट भारततर्फ अवैध रुपमा जाने तथा भारतबाट नेपालमा आउने समानको मूल्य समेत हो। नेपालमै उपभोगको लागि बनाईएको र भारतमा निर्यात गर्न नमिल्ने बहुराष्ट्रिय उत्पादनहरु अवैध रुपमा भारत पठाउने गिरोह नै सक्रिय रहेको छन्।
यस्ता गिरोहको खोजी चलिरहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए।
बिभिन्न समान लिएर नेपाल भित्रिने भारतीय ट्रकहरुको ढाला भन्दा तल नै यस्तो समान राख्ने गरिएको छ। बाटोबाट हेर्दा नदेखिने र भन्सार कर्मचारीले पनि खाली ट्रक चेक नगर्ने भएकोले तस्करलाई झन सहज भएको छ।
हाल धमाधम समान बरामद हुन थालेपछि भन्सार प्रशासनले भने नेपालमा यसको विक्रेताको खोजी गरिरहेको छ।
भारतमै पाइने अधिकांश सामानहरु नेपालबाट तस्करी भएर भारत किन जान्छ भन्ने प्रश्नमा भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थीले यसको कारण नेपाली मुद्रा र भारतीय मुद्राको अन्तर भएको बताए।
नेपालबाट अवैध रुपमा भारत जाने गरेका नेपाली उत्पादनहरुको उपभोक्ता भने भारतको मात्र नभई अधिकांश नेपाली हुने गरेका छन्। अवैध बाटो गएका यी वस्तुहरु सीमावर्ती अधिकांश पसलमा विक्रिका लागि राख्ने गरिएको नेपाली व्यवसायीहरुको भनाई छ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारत गएका नेपाली उत्पादनहरुलाई पुनः नेपाली उपभोक्ताले नै महङ्गो मूल्य हालेर फिर्ता ल्याउने गरेको बताए।
ठाकुरले यस बिषयमा नेपाली उपभोक्तालाई सचेत गराउनुको साथै यस्ता उत्पादनहरु अवैध तरीकाले भारत पठाउन सघाउने विरुद्धको अनुसन्धानमा सहयोग गर्ने बताए।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० ११:०९