म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पछैको रावण पार्क निर्माण कार्य अलपत्र बनेको छ।
साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि अलपत्र बनेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत रावण मुर्तिसहित पार्क निर्माण गर्न वि.स. २०७७ फागुनमा काठमाडौं कलंकीको धर्म एस कास्यप जेभीसँग १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ मा ठेक्का भएको थियो।
सम्झौताको सर्त अनुसार वि.स. २०७९ फागुनमा निर्माण सकिनुपर्ने पार्कको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ। पछै स्थित पुलाश्रम मन्दिरका पुजारी जगदिश सुवेदीले वि.स. २०७८ असारदेखि यता रावण पार्क निर्माणको काम नभएको बताए।
पर्यटन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पार्क निर्माण शुरु भएको थियो। बेनी नगरपालिकाका प्राविधिकले गतवर्ष प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण प्रभावित भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
मन्त्रालयले हालै १५ लाख बजेट पठाएकाले नगरपालिकाको दायित्वसमेत थप गरी यो आवमा पार्क पूरा गर्न पहल थालेको नगर प्रमुख केसीले बताए।
१४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये ४ रोपनीमा पार्क बनाउन लागिएको हो। आश्रममा रहेका ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी ६ मिटर अग्लो रावणको मुर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायतका पूर्वाधार निर्माण गर्ने योजना छ।
घेराबारका लागि पर्खाल निर्माण पनि भइसककेको छ। पार्क निर्माणले पर्यटन प्रबर्द्धन हुने स्थानीयले आशा गरेका छन्। निर्माण कम्पनीका प्रतिनिधीले काठमाडौमा रावणको मुर्ति निर्माण गरिसकेको बताएका छन्।
रावण पार्क निर्माणस्थल पछैबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ।
यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १२:००