म्याग्दी । म्याग्दीको बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन निर्माण कार्य ६ वर्षसम्म पनि पुरा भएको छैन।
म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले ६ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ।
सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले वि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती-गल्वा-रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।
चौविस करोड ४ लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।
निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाई भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना बागलुङका प्रमुख सुनिता श्रेष्ठले बताए।
चार हजार ९ सय ६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको ४ तले भवनको ढलान सकिएको छ। पलास्टर, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ।
पन्ध्र शैय्या क्षमत्ताको अस्पताल २०७२ मा पचास शैय्यामा स्तरोन्नति भएको थियो। नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो।
बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ।
भू-कम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ। भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १५:३२