नारायणगढ, चितवन । वरीपरी गहुँ, मकै र तरकारी लगाएको ढकमक्क परेको बारी बिचमा पातलो दुबो देखिने खाली चौर, त्यही चौरमा रहेको पातलो दुबोमा पानी हाली फैलाएर बिक्री गरी आम्दानी गर्ने योजनाका साथ बारीमा खटिरहेको छ चितवनका तुलसीराम अर्याल।
“चैतको खडेरीमा यसलाई जोगाउनै गाह्रो छ पानी हालिरहन पर्छ।” उनले भने। दिनको २ बजेको घाममा उनीसँगै दुबो बारीमा अन्य कामदारहरु पनि काममा तल्लिन देखिन्थ्ये।
कोही दुबो लगाउने बारी मिलाउँदै थिए भने कोही दुबो रोप्दै र गोड्दै थिए। कसैले माग भएका दुबोका चाक्लालाई जमिनबाट निकाल्दै थिए। सबै आ–आफ्नो काममा व्यस्थ रहँदा अर्यालले भने “यो समय ग्राहकहरुले दुबो लगाउने र हाम्रो व्यापार हुने समय हो। काममा भ्याई नभ्याई छ।”
भरतपुर महानगरपालिका-२३ मदिपुरमा अर्यालले विगत ४ वर्षयता व्यवसायीक रुपमा चाइनिज दुबो खेती गर्दै आएको छ। अहिले उनीसँग १५ जना मजदुरहरुले काम गर्दै आएका छन्। कोही स्थानिय हुन भने कोही मधेस तथा छिमेकी देशबाट समेत आएका मजदुरहरु रहेका छन्।
घरको वरीपरि, होटल, बगैंचा, सडक पेटी, खेल मैदानहरुमा प्रयोग हुने यो दुबो भएकाले बर्षातको समयमा खासै काम नहुने उनले बताए। अर्यालले २ विगाहा १० कठ्ठा जग्गा भाडामा लिएर दुबोको खेती गरेको हो।
उनले भने, “बिगतमा तरकारी खेती गर्दै आएको थिए। त्यसको बिकल्पको रुपमा दुबो खेती गरेको हुँ।” उनको थप भनाई थियो “यो व्यवसाय नयाँ भएकाले कस्तो हुन्छ भनेर गरेको हुँ। अहिले राम्रौ छ।”
सबैले बुझ्ने भाषामा चाइनिज दुबो भनियतापनि उनले बारीमा अहिले मेक्सीकन, बर्मुडा र जर्मन जातका दुबोहरु लगाउँदै आएको बताए। भारत गएर यी दुबोको बारेमा बुझेर आएर यहाँ व्यवसायीक रुपमा खेती गर्न थालेको भन्दै उनले भने “बुटवलमा आफन्तले पनि यही व्यवसाय गर्दै आउनुभएको छ। यस काम गर्ने देन उहाँमा पनि जान्छ। उहाँकै सल्लाहामा दुबो लगाएको हो।”
दुबो तयार गर्नका लागि झार नभएको मलिलो माटो आबश्यक पर्ने उनले बताए। यसको लागि आवश्यक पर्नेे बीउ भारतबाट र कतिपय बीउको व्यवस्था आँफै पनि गर्ने गरेको अर्यालको भनाई छ।
संस्था तथा व्यक्तिसँगको सम्पर्कका कारण यसको बजारीकरण हुने भन्दै उनले अहिले चितवन सहित पोखरा, स्याङ्जा, धनगढी लगाएतका जिल्लामा दुबो पठाउँदै आएको बताए।
“भरतपुर भ्रमण वर्ष उद्घाटन भएको स्थान नारायणी किनारमा पनि दुबो हामिलै लगाएको हो। र अहिले पूल्चोक गोन्द्राङ सडक किनारामा पनि लगाउने कुरा भईरहेको छ।” उनले प्रचार शैलीमा भने।
दुई दशमबल पाँच बाई चार वर्ग फिटको एक पिसलाई होलसेल मूल्य ३५० र खुद्रा मूल्य ४ सयमा बेच्दै आएको उनले बताए। अहिले यही दुबोको कमाईले दुई वटा छोराछोरी र घर परिवार राम्रोसँग चलेको उनले सुनाए। अर्यालले भने “बिदेश जाने योजना थियो तर यही केही गरौ भनेर लागियो।”
बाहै महिना बारीमा खटिनुपर्ने र तयार भएको दुबो कहिलेकाही बिक्रि गर्न समस्या हुने भन्दै उनले हरेक पेसामा रहेको समस्या समाधान गर्दै अघि वढ्न सके यही केही गर्न सकीने बताए।
यसै प्रकारको व्यवसाय वा खेती कसैले गर्न चाहान्छ भने बुझेर मात्र गर्न र यसको बजार सिमित रहेको उनको भनाई थियो।