
म प्रकाश हुँ
भन्न सक्दिन
र
उज्यालो दिई रहन सक्दै सक्दिन
म भित्र सन्नाटा छ
त्यसैले
अध्यारोसँग लुकामारी खेलिरहेको छु ।
उ बेलानै रहरहरु जति
सिलौटामा नुन खुर्सानी टिमुर
मिसाएर लसलसी पिसेर
आफ्नाहरुलाई स्वादिलो बनाएकि हुँ
त्यसैले म निम जत्तिकै
तितो छु ।
म कसैको निम्ति
केही होइन
आशा हुँदै होईन
आकांक्षा झनै होईन
सुख पनि होईन ।
न त म नदी हुँ
न त म विश्वास हुँ
न त म झरी हुँ
न त म बादल हुँ
बस् म केवल
कर्तव्यको बर्को हुँ
लुट्पुटाएर बेरिरहन्छु
बेर्नु न्यानो पार्नु
संघर्ष ,सम्झौता ,चुनौती
हावा ,पानी ताप,
सबै
प्राकृतिक अप्रासंगिक अप्रत्यक्ष
अप्रत्याशित प्रहारहरुबाट बचाउनु मेरो धर्म हो ।
जीवनको अन्तिम पलसम्म पनि माऊ कुखुराले झैँ
पखेटाले छोपेर चल्लाहरुलाई बिपत्ति बाट जोगाउनु छ ।
कर्तव्य निभाउदा निभाउदै निभे भने पनि
कतै कोहि विचलित नहुनु
यो जीवनको प्रक्रिया हो
ओइलिएर झर्नु प्राकृतिक हो ।
शरीर नभएर के भो त
अजम्बरी यादहरुले कहिले साथ छोड्दैनन्
जहिँतहिँ रहनेछु
हुन त म केही पनि होइन
तिम्रो उन्नति प्रगतीमा रमाउने
तिमी मुस्कुराउदा
संसार जितेको ठान्ने मै हुँ
अरु त के हुँ र ??
म कोहि हुँला नहुँला
तिमी सर्वस्व मान्दै
तिमी भित्र आफूलाई खोज्ने
मै हुँ
थाहा छैन म के हुँ ?
म को हुँ ?
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० ११:०२