म्याग्दी । समुन्द्रि सतहदेखि २ हजार ८०० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी क्षेत्रको जंगल ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको छ।
वरपरको पाखामा लालीगुराँसले रंगिएको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सुर्योदय, पहाडी भूगोल र हिमशृङखलाको अवलोकन गर्न पाउनु यहाँको विशेषता हो । स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाउँछ ।
चैत-बैशाख गुराँस फुल्ने याम हो । घोडेपानीको जंगलमा रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ। पाखामा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।
विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ। नेपालमा ३२ प्रजातिका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाईन्छ।
लालीगुराँस नेपालको राष्ट्रिय फुल पनि हो। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाईने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दावी गरिएको छ।
घोडेपानीदेखि ४५ मिनेट उकालो हिडेपछि समुन्द्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिलमा पुगिन्छ। दैनिक १ हजार जना भन्दा बढी सबै किसिमको क्षमता भएका पाहुना बास बस्न सक्ने सुविधा सम्पन्न होटलहरु भएको घोडेपानी आसपासका सहायक गन्तब्य पनि छन्।
गुराँसपार्क, चरा अवलोकन केन्द्र, फुलबारी, पेरिभारानी ताल, भलखरा, पोन्नी र साइकल ट्रेल घोडेपानी आसपासका सहायक गन्तब्य हुन्। सडक सञ्जालमा जोडिएको घोडेपानीमा यातायात र पैदल हिडेर दुई वटै माध्यमबाट पुग्न सकिन्छ। पोखराबाट हरेक बिहान साढे ९ बजे म्याग्दीको बेनी हुदै घोडेपानीका लागि बस छुट्ने गर्छ।
पोखरादेखि कास्कीको उल्लेरीसम्म सवारी साधन र त्यहाँदेखि ३ घण्टा पैदलयात्रा गरेर पनि घोडेपानी पुगीन्छ। घोडेपानी र पुनहिलबाट मोहरेडाडा, खोपारालेक, तातोपानी कुण्ड, घान्द्रुक लगायतका पर्यटकीय स्थलहरुको भ्रमणमा जान सकिन्छ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १३:५८