काठमाडौ । प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दा बहसको अर्को पेसी असार २८ गते तोकिएको छ। अब २८ गते नै फैसला आउन सक्ने सम्भावना रहेको छ।
प्रतिनिधिसभा विघटन विरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि पक्ष र विपक्षका कानून व्यवसायीको बहस र संवैधानिक इजलासले झिकाएका एमिकस क्युरीले राय दिनेक्रम आज सकिएको हो।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासले ३२ घण्टा समय तोकेको थियो। जसमा रिट निवेदकलाई १५ र विपक्षीलाई १५ घण्टा समय दिएको थियो । २ घण्टा एमीकस क्युरीका लागि तय गरिएको थियो।
रिट निवेदक पक्षका कानून व्यवसायीले आज ३ घण्टा जवाफी बहस गरेका थिए, भने एमिकस क्युरीका तर्फबाट पनि २ घण्टा भएको थियो भने एमिकस क्युरीका तर्फबाट राय दिदै वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले पदमुक्त भइसकेका प्रधानमन्त्रीले फेरि नियुक्तिका लागि जान नपाउने बताएको छ ।
वैद्यले दुई वर्षभन्दा बढी प्रधानमन्त्री भएका व्यक्तिलाई संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने समेत तर्क गर्दै यो व्यवस्था भर्खर निर्वाचित भएको वा धारा ७६ को (१), (२) अनुसार सरकार बन्न नसके (३) ले पाउने बताएका हुन्।
त्यस्तै अर्का सदस्य कोमल प्रकाश घिमिरेले विश्वासको मत लिन नसकेका प्रधानमन्त्रीले फेरी दावी गर्न नमिल्ने जिकिर गर्दै ७६ (५)मा उपधारा (२) बमोजिमको आधार प्रस्तुत गरेमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने बाध्यकारी ब्यवस्था भएको राय दिँदै घिमिरेले ‘चुक्लि लगाएको पत्रको आधारमा राष्ट्रपतिले गरेको निर्णय विवादास्पद रहेको बताए।
एमिकस क्युरीकै तर्फबाट अर्की सदस्य उषा मल्ल पाठकले शेरबहादुर देउवाको रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताउँदै उनले निर्वाचन मितिलाई ध्यानमा राखी त्यसअगावै बालिग नागरिकलाई खोप लगाउने परमादेश जारी गर्न पनि माग गरेका थिए ।
एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ता प्रकाश बहादुर केसीले पनि राय दिएको थियो । त्यसअघि रिट निवेदक पक्षका तर्फबाट प्रत्युत्तरमा बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएका थिए भने वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटबाट सांसदले हस्ताक्षर फिर्ता लिन नमिल्ने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८ १८:३३