भरतपुर, चितवन । चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका २२ घर निर्माण गरिएको छ।
संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट विपन्न चेपाङको घर निर्माण गरिएको हो ।
पालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार एक महिना भित्र सबै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिनेछ । अधिकांस घर निर्माणको अन्तिम चरणमा पुगेको भन्दै घरको छाना छाउन र रंङ लगाउन मात्रै बाँकी रहेको बताए ।
‘घडेरी सम्याउने र जग खनेर ढुङगा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो, अध्यक्ष गुरुङले भने, अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए ।
पालिकाको वडा नम्वर १ मा ५ वटा, वडा नम्वर २ मा २ वटा, वडा नम्वर ३ मा २ वटा, वडा नम्वर ४ मा २ वटा, वडा नम्वर ५ मा २ वटा, वडा नम्वर ६ मा ३ वटा र वडा नम्वर ७ मा ६ वटा घर निर्माण गरिएको छ । सबै घर निर्माणको जिम्मा सुवेदी एण्ड सिलवाल कन्टक्सन कम्पनीले लिएको हो ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जेठ १५ गतेभित्र सबै घर निर्माण सम्पन्न हुने बताए । उनले गाउँपालिकामा अधिकांस योजना सम्पन्नको चरणमा रहेको भन्दै यो आर्थिक वर्षमा ९० प्रतिशत पुजिगत खर्च गरिने जानकारी दिए ।
‘विपन्न चेपाङ समुदायलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ, उनले भने, उनीहरुको गास, बास कपास र शिक्षा, स्वास्थ्यमा ध्यान दिइएको छ ।’ खरको छानो भएको झुप्रोमा बस्दै आएका चेपाङ समुदाय नयाँ घर निर्माण भएपछि खुसी भएका छन । इच्छाकामना गाउँपालिका १ कोलभन्ज्याङका अरसल चेपाङ भुकम्पले पुरानो घर भत्किएपछि छाप्रोमा बस्दै आएको बताए ।
उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरी बतास र आगलागीको डर अब अन्त्य भएको बताए । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौं, उनले भने, छ जनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।’ इच्छाकामना गाउँपालिकामा झण्डै २५ सय चेपाङ परिवार छन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १४:१२