फिक्कल, इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।
सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएको हो।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७ सय ४५ कर्मचारी, १ हजार ५ सय २३ नेपाल प्रहरी, ७ सय १० सशस्त्र प्रहरी बल, ४ सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए।
यो चुनावमा १ लाख १५ हजार ८ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८ सय ६९ महिला र २ जना तेस्रो लिङ्गी छन् ।
त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।
निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार ७ सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ ११:३५