म्याग्दी । चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा चक्रपथ निर्माण भएको छ ।
लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी-जोमसोम-कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो ।
गण्डकी पद्रेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रम मार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको छ ।
गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर-चुमजुङ-न्याम्डो हुदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका ईञ्जिनियर सतिश पनेरुले वताए।
इमाटोल कन्ट्रक्सनले वि.स. २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना वि.स. २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
पेश्की वापत लगेको रु. ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् ।
रुपैयाँ २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर रु. २४ करोड पुगेको छ। हालसम्म रु. १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ति, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको छ ।
राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै वस्तीहरुलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको छ । स्थानीयबासी, पर्यटक र व्यावसायीहरुलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१ १६:४१