काठमाडौ । जलवायु परिवर्तनको असरले विश्वमा पानीको मात्रा सन् २०५० सम्ममा ८ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन्।
नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको भर्चुअल कार्यक्रममा जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञले बताएको हो ।
‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने ।
अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन २०५० सम्मा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्नसक्ने पनि उनले बताए ।
सन २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ। अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ उर्जा नेपालले जनाएको छ।
अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ। जसमध्ये २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८ ०९:००