लमजुङ । लमजुङ जिल्लाको क्व्होलासाथार गाउँपालिकामा रहेका पर्यटकीय वस्ती घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेशीसहर–बाग्लुङपानी–घलेगाउँ भुजुुङ सडक आयोजना अन्र्तगत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न थालिएको हो ।
बागलुङपानी-घलेगाउँ जोड्ने १० किलोमिटर कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका-१ हुँदै क्व्होलासाथार गाउँपालिका-४ भुजुङ जोड्ने ७ किलोमिटर सडक ग्राभेल गर्ने कामले तिब्रता पाएको छ ।
कान्छाराम कन्ट्रक्सनले वि.स. २०७६ मा रु. ३६ करोड ६६ लाख ६८ हजारमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना वि.स. २०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारी पछि सुस्ताएको थियो ।
दुई वर्षपछि निर्माणले गति लिएको यो सडकको बागलुुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले बताए ।
एक किलोमिटर ५ सय मिटर दुई तर्फी र ७ सय मिटर एकतर्फी कालोपत्र भएको पूूर्वाधार विकास कार्यालय, लमजुङका प्रमुख विवेक सिग्देलले वताए ।
घलेगाउँसम्म चौडा पार्ने, नाली र पर्खाल निर्माण गर्ने काम सरेर सबबेस राखिसकेको निर्माण कम्पनीले पहिरो प्रभावित तोरीबारी–खेनगी खण्ड बाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी गरेको जनाएको छ ।
यसैगरी घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, टेवा पर्खाल बनाउने, ग्रेड र घुम्ति सुधार गर्ने कामलाई तिब्रता दिएको सो खण्डको सहायक ठेकेदार भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताए।
सडक कालोपत्र भएपछि स्थानीयबासीका साथै स्मार्ट भिलेज घोषणा भएको घलेगाउँ, छिमेकी भुजुुङका बासिन्दाका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने जनाइएको छ ।
दुई वर्षको प्रयासपछि निर्माणले गति लिएको सडकलाई पूर्णता दिन सहजिकरण र समन्वय गरेको घलेगाउँका वडा अध्यक्ष आशबिर गुुरुङले बताए ।
यसअघि बेशीशहरदेखि बागलुङपानीतर्फ ३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस वर्ष थप १४ करोड बजेटको ठेक्का लगाइएको छ ।
यो सडकले पश्चिम लमजुङको आर्थिक सामाजिक र पर्यटन विकासमा रुपान्तरण ल्याउने भएकाले रणनीतिक महत्वको मानिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १७:२६