केके मानन्धर,
काठमाडौ । काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कारलाई निरन्तरता दिनको लागि वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो ।
नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ।
बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी रहेको आयोजक संस्थाका विश्वराम मानन्धरले जनाए । वैशाख २७ बाट सुरु भएको दुई दिने कार्यक्रम अक्षय तृतीयाको पावन अवसरमा सम्पन्न भएको छ।

स्थानिय भाषामा ‘ई’को अर्थ समय हुन्छ र ‘हि’ भनेको रगत हो । त्यसैले बालिकाको रजश्वला हुनु अगावै गरिने संस्कार नै ईहि हो। ईहि कार्यक्रममा सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजा विधि बमोजिम कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन्।
बालिकाको आमा र बुवा अनिवार्य सहभागी भएर परम्परागत मान्यता बमोजिमका पूजा पाठ गर्दछन्। कार्यक्रम अवधिमा महिलाले गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरु समेत सिकाइन्छ । घर सफा गर्नको लागि कुचो लगाउने, खाना पकाउनको लागि सिलौटोमा मसला पिँध्नेदेखि अन्य घरायसी विधिहरु सिकाइन्छ।
श्रीमानको मृत्यु पश्चात् श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनको लागि सांस्कृतिक विद्रोहको रुपमा ईहि संस्कार सुरु गरिएको कार्यक्रममा सहभागी भएका अग्रजले बताए ।
हुन पनि ईहि कार्यक्रममा बेलसँग सांकेतिक रुपमा बालिकालाई विवाह गरिदिएर आमाबुवाले कन्यादान दिलाउने पूजाविधि गराइन्छ। त्यस्तै, तत्कालीन नेपाल मण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने उर्दी जारी भएको बताइन्छ।
त्यसैले सोही उर्दीबाट बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको अर्कोथरी स्थानियहरु दाबी गर्दछन् ।
नेवार समुदायभित्र ईहि परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन आवश्यक छ। खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ।












प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ०७:४९