भरतपुर, चितवन । मगर समुदायको मौलिक संस्कृति र स्थानिय परिकार देवघाटको कराँदीप सामुदायिक होमस्टे (घरबास) को बिशेषता हो।
पालिकाको वडा नम्वर २ कराँदीपमा मा रहेको यस होमस्टे २०७४ सालमा स्थापना गरिएको हो । यहाँ आउने पाहुनाहरु यहाँका संस्कार संस्कृति र रैथाने परिकारले लोभिने गरेका छन ।
देवघाट गाउँपालिका-१ को कोटा, आँपटार छरछरे झरना हुँदै यहाँ पुग्न सकिन्छ । यस्तै सदरमुकाम दमौलीबाट पनि यहाँ जान सकिन्छ।
यहाँ सबै घरधुरी मगर समुदायको बसोबास छ । मगर समुदायको संस्कृति कौडा, झ्याउरे र दाहोरी सुन्न र हेर्न पाइन्छ। ढिडो सिस्नो, कोदोको सेलरोटी, मासको बटुक लगायत गाउँमै उत्पादन भएका परिकार यहाँ आउने पाहुनालाई खुवाउने गरिएको वडा सदस्य तथा होमस्टेका संस्थापक अध्यक्ष युवराज मगरले वताए ।
यहाँ रहेका १८ घरधुरीमा एक पटकसम्म पचास जनासम्म पाहुना राख्नसक्ने क्षमता छ । यहाँसम्म पुग्ने कच्ची सडक छ। तर पनि महिनामा चार/पाँच गु्रप पाहुनाहरु पुग्ने गरेका छन ।
कराँदीपका स्थानीय परिश्रमी र मेहनती छन् । प्रशस्त सिचाइँको सुबिधा भएको हुनाले पनि यहाँका स्थानियले तरकारी खेतीसंगै व्यवसायीक रुपमा अदुवा खेती गरिरहेका छन । पाहुना बनेर आउनुहोस परिवार बनेर जानुहोस भन्ने यहाँका मगर समुदायले यहाँको उत्पादन बिक्री समेत गर्ने गरेका छन ।
यहाँ केही पूर्वाधार समेत निर्माण भएका छन । गाउँपालिकाले पनि यस होमस्टेलाई प्राथमिकतामा राखेर प्रबद्र्धन गरिरहेको छन्। यहाँका घरहरुमा एकै प्रकारका रंग लगाइएको छ भने गाउँमा पक्की सिढीबाटो बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:१२