काठमाडौ । चेतन कार्कीलाई धेरैले चिन्दा वा देख्दा एक सक्रिय सिनेकर्मीको रुपमा पहिला र पछि एक संस्कृतिकर्मीका रुपमा बढी देख्दछु । त्यति मात्र परिचयले धानिने व्यक्ति होइनन् ।
चेतन कार्की नेपाली समाजको एक विशिष्ट पात्र हुन् जसले समाजको अन्तरचेतना, अस्तित्वगत भावन बदल्नमा एक हिमायतीका रुपमा हरदम सक्रिय रहे ।
चेतन कार्कीको व्यक्तिगत रुपमा चर्चा गर्दा उनका जीवनका तीन पक्ष सदा सशक्त भए, फिल्मकार चेतन कार्की, गीतकार चेतन कार्की अनि संस्कृतिकर्मी चेतन कार्की । यहाँ पहिलो चर्चा गीतकार चेतन कार्कीको गरुँ ।
गीतकार चेतन कार्की
चेतन कार्की गीतकारका रुपमा रेडियो नेपालमा २०१८ सालमा प्रवेश गरे भने विसं २०२७ मा उनी चलचित्रका गीतकार भए, परिवर्तन नामक् चलचित्र मार्फत् । त्यतिवेला नेपाली चलचित्रमा किरण खरेल, मबीवि शाह, प्रदीप रिमाल र पुष्प नेपालीले मात्र गीत लेखेका थिए।
गीतकारका हैसियतले चेतन कार्कीलाई नारायणगोपाल गुरुवाचार्य, मीरा राणा र तारादेवीले गाएका थिए तर चर्चाका हिसाबले कार्कीलाई नारायणगोपालले फिल्ममा गाएको पहिलो गीत "बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखाले..." व्यापक चिनायो।
यसपछि कार्कीले नेपाली कथानक चलचित्र कान्छी, मायाप्रीति, पहिलो प्रेम, विश्वास, भुँवरी, राँको, कन्यादान, चित्कार आदिमा एकसेएक गीत लेखे। कार्कीका प्रायः जीवन, प्रेम र उत्साहका चर्चा हुन्छन् तर मिहिनरुपमा हेर्दा उनी जीवनमा दर्शन र जागरणको कुरा गर्ने एक साधक हुन्।
आफ्नै निर्देशनमा बनेको पहिलो फिल्म विश्वास मा उनले लेखेका गीतमा तन्मयता अनि बेफिक्र जिन्दगीका दावाहरु छन्। उनले गीतमा आफूलाई र आफ्ना अनुभवलाई खूब न्यायपूर्वक राखेका छन्, जिन्दगी एउटा खेल हो साथी भन्ने गीत होस् वा अंगअंगमा तरंग त्यस्तै पृथक धारका गीत हुन्। भुँमररी मा उनले गोपाल योञ्जनको संगीतमा उत्कृष्टताको पहिचान दिँदै पिरतीको चलन यो..., न रुन्थे आँखा मेरा...गीतमा दमनीयताको स्वभावमा आफूलाई कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।
उनी कुनै पनि गीतमा मिटरले नापेर गीत लेख्दैनथिए, उनी गीतको भावकथन, काल्पनिकीका विषयमा उनी आफैँ स्वरचित विषयमा गीत लेख्थे। यसर्थमा उनले कान्छी मा छोरीको जन्म हारेको कर्म, ई ओंठ तिम्रा... जस्ता भावप्रवणशील गीत लेखे ।
एक शक्तिशाली गीतकारका रुपमा उनले नेपाली चलचित्रका अत्यन्त अनुभवी निर्देशक बीएस थापा, हिरा सिंह खत्री, प्रकाश थापाका प्रायः सबै फिल्ममा गीत लेखेर सहकार्य गरे, यो एक उदाहरणीय पक्ष हो ।
शाही नेपाल चलचित्र संस्थानमा सँगै काम गर्दाका सहकर्मी प्रकाश थापासित लामो र घनिष्ठ परिचय भएपनि उनीसित एउटै फिल्ममा मात्र काम गरे, कन्यादान मा ।
कन्यादान मा कार्कीले नजाऊ न मलाई छोडी..., तीजको रहर आयो बरी लै... जस्ता कालजयी गीत लेखे । यी दुवै गीत नै यो चलचित्रको प्राण मानिन्छ । यस वाहेक यही चलचित्रमा उनले एउटा बाल सन्देशमूलक गीत पनि लेखेका छन् । गीतमा हरेक उमेर, समय र तप्काका गीत लेख्न सक्ने कार्की नेपालका धेरै गीतकारहरु मध्ये आफ्नै स्टाइलाइजेशन भएका एक स्रष्टा हुन् ।
गीतकार रुपमा उनी भारतका प्रसिद्ध गीतकार (विशेषतः फिल्मी गीतमा) राजेन्द्रकिशनका फ्यान हुन् । किशनका प्रायः गीत उनलाई कन्ठस्थै हुन्थे। किशन वाहेक उनलाई साहिर, शैलेन्द्र पनि खूब मनपर्थे । गालिब र मीरका गजलमा उनका धेरै रुचि देखिन्थ्यो ।
काठमान्डू उपत्यकामा मनाइने गालिबको हरेक जन्मजयन्तीमा उनी सरिक हुन्थे र गालिबको समग्रतामा उनी धाराप्रवाह हुन सक्थे। सौन्दर्यस्तुति र सहमतिमा गीत लेख्ने गीतकार कार्कीले आफू पछिका पुस्ताका फिल्म निर्देशकहरुका निम्ति गीत लेखका छन् त्यसमध्ये किशोरा राना, कृष्णराज पाण्डेय, रमेश थापा प्रमुख हुन् ।
निजी एल्बमका गीतहरुका प्रसंगमा उनले संगीतकार शुभवहादुर सुनाम, दिव्य खालिङ, शीलावहादुर मोक्तान, बसन्त सापकोटा, प्रवीण बराइली आदिका संगीतमा धेरै गीत लेखेका छन् ।
गायक बसन्त खड्का, बिधान श्रेष्ठ, शैलेश सिंह, राज सागर, गायिका रश्मी अमात्य, लास्मीत राई, सबीना कार्कीले उनका गीतहरु उनको जीवनकालमै आफ्ना निजी अल्बममा संगृहीत गरेका छन् ।
फिल्मकार चेतन कार्की
नेपालबाट बनेको चौथो फिल्म परिवर्तन मा हिरा सिंह खत्रीको सहायक निर्देशक भएर चलचित्र जगतमा प्रवेश गरेका कार्कीले शाही नेपाल चलचित्र संस्थानबाट बनेका चलचित्रहरु मनको बाँध, कुमारी, सिन्दूर, जीवन रेखा मा प्रोडक्शट कन्टेलर भएर काम गरे। प्रकाश थापा निदेर्शित सिन्दूर र जीवन रेखा दुवै चलचित्रमा उनले सम्वाद्लेखकका रुपमा उपस्थिति जनाए ।
दौलतविक्रम विष्टको कथा जब बादल फाट्छ मा बनेको सिन्दूर का सम्वाद् नेपाली चलचित्र इतिहासको लोकप्रिय संवाद् मानिन्छ। यस फिल्ममा नीर शाह, हरिहर शर्मा, शान्ति मास्केका संवाद् खूब चर्चित भएका थिए ।
सिंदूर पछि उनले केशवराज पिंडालीको उपन्यास अन्त्यदेखि शुरु नामक् उपन्यासमा आधारित जीवनरेखा मा सुपर हिट डायलगहरु लेखे। मास्टर केशव, अर्जुनजंग शाही, शान्ति मास्केका संवादहरु यस चलचित्रमा अत्यन्त लोकप्रिय भएका थिए । प्रकाश थापाका प्रायः फिल्मलाई संवादले सिँगार्ने कार्कीले पछिल्लो समयमा गीत पनि लेखे ।
कार्कीले नेपाली चलचित्रमा गीत लेखन, संवाद् लेखन अनि निर्माण योजकको भूमिका पछि आफैँ स्वतन्त्र रुपमा फिल्म निर्देशकको जिम्मेवारी लिए। आरती फिल्म्सको पहिलो चलचित्र विश्वास मार्फत् । विश्वास चेतन कार्कीको आफ्नै कथा पटकथा र संवाद अनि निर्देशनमा बनेको थियो।
विश्वास फिल्ममा आफ्नो निर्देशन टोलीमा सहायकका रुपमा महिला सहायक निर्देशकका रुपमा मीना श्रेष्ठलाई भित्र्याएका थिए। विश्वास पछि उनले भुँमरी को निर्देशन गरे। भुँमरीमा उनले अर्जुनजंग शाही, मौसमी मल्लका साथ नयाँ कलाकार श्रीकृष्ण श्रेष्ठलाई पनि पर्दामा ल्याएका थिए।
यसपछि उनले तेस्रो फिल्म पहिलो प्रेम निर्देशन गरे । यस चलचित्रमा उनले रवीन्द्र खड्का, करिश्मा केसी का साथ नयाँ नायक धीरेन शाक्यलाई पर्दामा ल्याए । यही चलचित्रमा उनले गोपाल योञ्जनकी छोरी सृजना योञ्जनलाई पनि पर्दामा ल्याएका थिए तर योञ्जनले छायाँकन भएकोे शुरुवातमै काम गर्न सकिनन् । ठूला पर्दाका यी तीन चलचित्र निर्देशन गरेका चेतन कार्कीले नेपाली रजतपटमा धेरै स्थापित नभएका कलाकारलाई पर्दामा नयाँ रुप दिने काम गरे।
संस्कृतिकर्मी चेतन कार्की
गीतकार, फिल्म निर्देशक जस्तै कार्कीको जीवनमा छुटाउनै नहुने एक विशेष पाटो हो, संस्कृतिकर्मीको । गीत संगीत अनि वाद्यवादनको हरेक विषयको छुट्टाछुटै ज्ञान भएका कार्की नेपाली र भारतीय कला साहित्यका ज्ञाता थिए ।
नेपालका पूर्व पश्चिम सबैतिरको लोक गीत संगीत अनि नृत्यको गहिरो ज्ञान राख्ने कार्कीले हिमाली सांस्कृतिक परिवारमा हरेक वर्ष दिने प्रवचनीय मन्तव्य सदैव सम्मानपूर्वक सुन्नुपर्ने देखिन्छ ।
हिमाली सांस्कृतिक परिवार हार्मोनी द मोडर्न संग्सट्रेस अफ पोखरा मा वाहेक काठमान्डूमा शुभारम्भ द म्युजिक जर्नी, आस्था कला केन्द्र, नारायणगोपाल संगीत कोषमा उनको उपस्थितिले गीत संगीत र साहित्य संस्कृतिका वारे दिने शोधपरक विचार अनि संग्रहणीय मन्तब्यले नेपाली कला समाज धनधान्य भएको देखिन्छ ।
मारुनी, सोरठी होस् वा जनकपुरको जटजटनीको नाचको कुरा होस् । च्याब्रुँग वा घिन्ताँग किसीका प्रसंग होस् सबै कला र कलाको अनुकृति वारे निष्पक्ष विचार राख्ने कार्कीले आफ्ना समकालीन रामशरण दर्नाल, चतुर्भुज आशावादी, तेजेश्वरबाबु ग्वँगः वा आफ्ना अग्रज सत्यमोहन जोशीसित एक सहमत भावमा कला संस्कृतिको सेवा गर्दै आए ।
नेपाली गीत संगीतमा पश्चिमको रोइलो भाका होस् वा स्याङ्जाको आँधीखोले भाखालाई संपृक्त बनाउनमा उनले गहन काम गरे। उनका गीतमा पाइने नूतन नवीनतम शब्द पनि नेपाली लोकजीवनकै एक लब्धि हो भन्दा फरक नपर्ला ।
उनले आफ्नो नाटक आत्म बेचेको छैन । गायकका रुपमा परिचित गराएका झलकमान गन्धर्वको प्रस्तुति नै नेपाली लोकसंगीतको महतम पुरस्कार हुन गयो। झलकमान वाहेक उनले गायिका मीरा राणा, नृत्यकलाकार विमला श्रेष्ठ, अभिनेता रत्नदास प्रकाश अनि लोक कवि अलि मियाँलाई उज्यालोमा ल्याउने जुन काम गरे त्यो स्तुत्य छ। लोककवि अलि मियाँलाई जगदम्बाश्री दिलाउनमा उनले खेलेको समर्थकको भूमिका शब्दातीत छ।
अन्त्यमा
जुद्धबहादुर कार्कीका माइला छोराका रुपमा जन्मेका कार्कीको पूरा चेतबहादुर कार्की हो, परिवारमा उनलाई साने भनेर बोलाइने गर्थ्याे। सानेका गाउँछिमेकमा थरिथरिका साथीभाइ भएपनि कला क्षेत्रमा उनका फरक फरक साथी थिए ।
रेडियो नेपालमा लोकगीत गाउँदा चिनेको शेखर मानन्धरलाई उनी आफ्ना गडफादर मान्थे । कवि भूपी शेरचनसित उनको याराना धेरै पुरानो हो तर भूपीसित उनलाई चिनाइदिने चिनी कारखानाका हाकिम भूमिप्रसाद शर्मालाई उनी सहयात्री भन्थे ।
लोकगीत संकलनको क्रममा निकट भएका महेन्द्रप्रसाद खनाल र कामको सिलसिलामा आफन्त भएका रोहित थापासित उनको दोस्तीको सम्बन्ध अलि अलि रह्यो । गीतकार नगेन्द्र थापालाई उनी ज्वाइँसाहब भन्थे भनें कलाकार हरिहर शर्मालाई उनी जेठान भन्थे।
गीतकार रामविक्रम सिँजापतिलाई उनी सम्धि साहब भन्थे जीवन रहुन्जेल उनले हिमाली सांस्कृतिक परिवारका संस्थापक नरवहादुर शेरचनलाई दाइ नै भने । कला जगतका धेरै कलाकारलाई उनी छोरा छोरी नाति नातिनाको व्यवहार गर्थे र खुलेर सबैलाई भेटको वेला आशिर्वाद दिन्थे।
देहरादूनमा पढे बढेका कार्कीको खेलमा फुटबल मनपर्ने खेल थियो र यो खेलमा उनले राम्रै पौरख देखाएका थिए । खेल कला संस्कृति र सिनेमाका ज्ञाता कार्कीलाई नेपालका पहिलो रक गायक माइक खड्काले महामहिम उपनाम दिएका थिए। र, उनले महामहिम चेतन कार्की भनेरै सम्बोधन गरे।
प्रसिद्ध गजलकार प्रा डा सनतकुमार वस्तीले कार्कीलाई चेतन चचा भनेर नयाँ नाम दिए, यो नाम पहिले उर्दूका महाकवि गालिबले पाएका थिए भने पछि हिन्दुस्तानका पहिलो प्रधानमन्त्री पं जवाहरलाल नेहरुलाई दिइएको पाइन्छ ।
प्रा डा वस्तीले चेतन चचा भन्न थाले पछि गजलकारहरुको वृहत घेरामा उनलाई उर्दू अकादमीका सदर इम्तियाज वफा, मोमिन खाँ, डा काशिराज न्यौपाने, डा सुबोध रेग्मी सबैले चेतन चचा नै भन्न थाले ।
सर्वान्तमा एउटा चर्चामा नआएको गोप्य कुराबाट यो लेख टुँङग्याउँ, नेपालमा बनेको पहिलो नेपाल संगीत नाटक एकेडेमीको पदाधिकारी सिफारिस कमिटीमा उनी नभए पनि ती सबै नाम सिफारिश गर्नेमा कार्की नै थिए, उनले तैयार पारिदिएको सूचि मार्फत् चयन कमिटीले यो नाम सरकारमा बुझाएको थियो र यसरी नै अम्बर गुरुङको कुलपतित्वमा यो कपिटी बनेको हो । यो कुरा सिफारिस चयन समितिका संयोजकले पछिल्लो एक भेटमा पंक्तिकारलाई बताएको स्मरणीय छ ।
फुटबलर, फिल्म निर्देशक, नाटककार, उपन्यासकार, लोक गायक अनि गीतकार कार्कीको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली सहित यो लेख प्रस्तुत छ।