काठमाडौं । नेपाली साहित्य आकाशमा पारिजातको ’शिरीषको फूल’ अमर कृति हो । यो अमर कृति लेखेर विष्णुकुमारी वाइवा अर्थात पारिजात कालजयी बनिन्। विसं.२०२२ सालमा प्रकाशित कृतिले त्यही वर्ष मदन पुरस्कार पायो।
साहित्य अनुरागीमाझ विशिष्ट कृतिका रुपमा गढेको ’शिरीषको फूल’ माथि चलचित्र निर्माण गर्ने साहस मिठो भूलवाट बनेका युगिन कलाकार जगत राजथलाले गरे।
चलचित्र ’शिरीषको फूल’मा शिवराजको बुलन्द अभिनय गर्ने कलाकारका रुपमा पनि उनी चर्चित बने । यो चलचित्र साठीको दशकमा कलाकार राजथलाले निर्माण गरेका भएतापनि विभिन्न आर्थिक कारणले विसं.२०७० सालमा आएर मात्र प्रर्दशन भयो ।
जापानी निर्देशक तोसिआकी इतोहको निर्देशन तथा शर्मिला गुरुङ र गणेश लामा अभिनित जगत राजथलाको चलचित्र ’शिरीषको फूल’ बैशाख-जेठ महिना यसैपनि काठमाडौं सहर शिरीष फुलेर निलाम्मे भएको यही याममा चलचित्र रिलिज भयो ।
शहर सुन्दर देखाउने यो फूलको आयु लामो हुँदैन । फूलभन्दा पनि छोटो आयु चलचित्र ’शिरीषको फूल’को रह्यो। संयोगले फिल्म र फूल सँगै फुले, फूलले भमरा लोभ्याउने ल्याकत राख्यो होला । तर, फिल्मले साह्रै थोरैलाई आकर्षित गरेको त्यो बेलाका समिक्षकहरुले समिक्षा गरे। कृतिमा आधारित राम्रो चलचित्रले खासै बजार पाउन सकेन ।
जसको कारण युगिन कलाकार जगत राजथलाको यस चलचित्रमा भएको एक करोड लगानी फिर्ता हुन सकेन। राजथलाकै भाषामा भन्ने हो भने, चलचित्र ’शिरीषको फूल’वाट एक सुक्का पनि आम्दानी भएन ।
यद्यपि, उनलाई परम आनन्दको अनुभव भएको छ । चलचित्र ’शिरीषको फूल’को निर्माण गरेर आफू परमहंस जस्तो नै भएको र त्यति धेरै आनन्द कहिले पनि नपाएको बताउने उनी यो जीवनकै मिठो भूल भन्न रुचाउँछन् ।
वि.सं.२०४२ सालवाट रङ्गमञ्च अर्थात नाटक लाइनवाट नेपाली कलाकारिता क्षेत्रमा होम्मिएका कलाकार राजथला अभिनित पहिलो नाटक सिन्दूर माग्छ अधिकार हो । कलाकार राजथलाको थातथलो ललितपुरको लुभुका स्थानीयले निर्माण गरेको यसै नाटकवाट उनी कला क्षेत्रमा मज्जाले लागेका हुन् । जुन नाटक उनको कला क्षेत्रको लागि रोडम्याप नै बन्यो ।
काठमाडौंको राष्ट्रिय नाचघरवाट लगभग १५ किलोमिटर टाढाको बस्तीमा रहेको लुभुको शान तथा गौरब नै मानिएका कलाकार त्यस नाटकपछि काठमाडौंमा बाक्लै आतेजाते हुन थाल्यो । त्यो बेला सवारी साधनको बाक्लो सुविधा नभएको अवस्थामा पनि उनी आधारातसम्म काठमाडौंमा नै बसेर नाटकको रिहलसल गरेर सवारी नपाएपछि आधारातमा नै पैदल लुभु पुग्ने गरेका उनी घर पुग्दा विहान भैसकेको हुन्थ्यो।
यसरी संघर्षवाट बनेका कलाकार राजथला अभिनित गुरुप्रसाद मैनालीको अमर कृति नासोमा उनले गरेको जुठेको रोल त्यो बेला अत्यन्त चर्चाको विषय नै बन्यो । जसवाट अझ कला र कलाकारिताको लागि मरेर लाग्न आत्मप्रेरणा पाएको उनले यसवीचमा टेलिफिल्म आगोको झिल्कोमा पनि अभिनय गरे ।
धेरै नाटक र टेलिफिल्म खेले । त्यो बेलाका कलाकार दीपक क्षेत्रीसँग बाक्लै हिमचिम पनि बढ्यो । दीपक क्षेत्रीले नै अव नाटक र टेलिफिल्ममा मात्र रम्ने होइन, चलचित्र पनि बनाउनु पर्दछ भनेर प्रेरणा दिएपछि उनै कलाकार क्षेत्री मार्फत नेपाली चलचित्र उद्योगको दस्तावेज नै मानिएका चलचित्र लेखक तथा निर्देशक प्रकाश सायमीको उनको परिचय भयो ।
त्यो परिचय नै जीवनको अभूतपुर्व आयाम नै बन्न पुगेको उनको दावी छ । कला र कलाकारितामा कसैलाई गुरु नमानिकन अगाडि बढेको भएता पनि सिद्धहस्त चलचित्र लेखक तथा निर्देशक प्रकाश सायमीकै सदभाव, सदप्रयास र सहयोगवाट उनी राम्रा कलाकार बने।
कला क्षेत्रको गुरु उनले प्रकाश सायमीलाई नै मानेका छन् । मेरो आदर्श गुरु भनेर सम्मान दिएका छन् । प्रकाश सायमी निर्देशित सुपरहिट चलचित्र सिमानामा उनले अभिनयमा मात्र नगरिकन उक्त चलचित्रको योजनाकारको रुपमा पनि उनी थिए ।
लगानीकार नभएतापनि योजनाकार भएर प्रकाश सायमीसँग सहकार्य गर्न पाउँदाको त्यो गौरबतालाई उनले अविस्मरणीय नै मान्दै आएका छन्।चलचित्र सिमाना पछि प्रकाश सायमीकै चलचित्र रानीखोला तथा हतियारमा समेत विशेष भूमिकामा अभिनय गरेका कलाकार राजथलाले अनिल पाण्डेको निर्देशनमा चलचित्र मायाको जाल समेत निर्माण गरे ।
मायाको जाल देखि पछिल्लो कृतिमा आधारित चलचित्र ’शिरीषको फूल’ सम्मको अनुभवले परिपक्क बनेका उनले यस अवधिमा पितापूर्खाले अंशको रुपमा दिएको पाँच रोपनी जग्गा नै सिध्याएका थिए । यद्यपि, जिन्दगीप्रति कुनै गुनासो नराख्ने उनी यसलाई शिक्षाको रुपमा लिएर अगाडि बढ्ेको बताउँछन् ।
पाँच रोपनी जग्गा गएपछि जग्गाकै बिजनेश गरेर ती गुमेका सवै जग्गा फिर्ता लिन पनि सफल भएको बताउने उनी जिन्दगीवाट अत्यन्त खुशी छन्। पत्नी सरिता गुरुङ, दुई छोरी डिम्पल र मुस्कान, छोरा जमिनका साथमा खुशी र सुखी छन् ।
अनि याे पनि :