काठमाडौँ । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।
गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
पपुवा न्यूगिनीले दिएको १ सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो भने वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए ।
त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५/१५ रन जोडेका थिए ।
पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १/१ विकेट लिएका थिए। त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो।
पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित ५० बनाएका हुन्। किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २/२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १/१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ०९:०९