काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ।
अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विजयी भएको हो ।
अठहत्तर रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ दशमलव दुई ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २० रन जोडे ।
त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएका हुन्।
त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले २ विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो।
श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए।
त्यसैगरी कामिन्दु मेन्डिसले ११ रन जोडे । श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान २/२ विकेट लिए ।
समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ ०७:४०