खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकाका बिभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ।
करिव एकसय २५ भन्दा बढी घर विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो।
बुधबार राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका-२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।
खाँदबारी नगरपालिका ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तिमा १ सय १० परिवार विस्थापित भएका छन्। खेत र बारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् ।
डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन्। धुपू बाह्रबीसे जोड्ने माल्टा खोला माथिको पक्कि पुल जोखिममा परेको छ ।
खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालिन समस्या समाधानको पर्खाईमा बसेका छन्।
बर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ ।
उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवश्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ। बाढीले कम्तिमा ३ करोढ बढीको क्षति पारेको अनुमान गरिएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा भइरहेको छ।
त्यस्तै, अविरल बर्षाको कारण चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्ग अन्तर्गत मुढे–नुम र ठुलोढुंगा-अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १९:०४