- श्याम स्मृत
शिक्षामा व्यावसायिक शिक्षाको अत्यन्त आवश्यक छ। त्यसमा अझ प्राविधिक सीपमूलक शिक्षा दिन सकेमा शिक्षानीतिले ठूलै फड्को मार्ने निश्चित छ। सैद्धान्तिक शिक्षा मात्र दिएर बेरोजगार जन्माउने शिक्षाको उपनाम पाइरहेको नेपालीको शिक्षानीतिमा व्यावसायिक सीपमूलक प्राविधिक शिक्षाले स्थान पाएपछि धेरै सुधार भएको छ। नेपाली शिक्षामा आमूल परिवर्तन आएको देखिएको छ। जुन अत्यन्त सुखद पक्ष पनि हो।
एकातिर हामी व्यावसायिक सीपमूलक प्राविधिक शिक्षाको जोडदार माग गर्दै अगाडि बढ्ेको अवस्था छ। अर्कोतर्फ, यो शिक्षा बेसारे महंगो भएको कारण सोच अनुरुप जनशक्ति तयार हुन नसकेको यथार्थ पनि छ। सैद्धान्तिक शिक्षा भनेको एक छाकको माछा मात्र हो, सीपमूलक प्राविधिक शिक्षा भनेको एक छाकको मात्र नभइकन माछा मार्ने बल्छी हो। जुन बल्छीले जीवनभर साथ दिने गर्दछ।
नेपाली शिक्षामा माछा नभइकन बल्छी आवश्यक भएको कारण बल्छीरुपी शिक्षाको विकास गर्न र गराउन शिक्षानीतिलाई सस्तो वनाउन सरकारले अग्रसरता देखाउन आवश्यक छ। अबको शिक्षा देशको जुनसुकै ठाउँ, क्षेत्र र भू–भागमा अध्ययन गरेता पनि उहि समान प्रकृतिको सीप तथा ज्ञान प्रदान गर्ने सुनिश्चितता प्रदान गर्ने हुनु पर्दछ।
नेपालका ७५३ वटै स्थानीय तहले आफ्नो स्रोत र साधनको आधारमा आफ्नो भूगोलको विकास गर्ने गरी शिक्षाको नयाँ मोडेल ल्याउनु आवश्यक छ । यदि त्यसो गर्न सकिय भने मात्र नेपालको संविधान २०७२ ले अङ्गिकार गरेको शिक्षाको मौलिक हक र दिगो विकासमा समाहित भएको शिक्षाको उदेश्य ‘गुणस्तरिय शिक्षा’ हरेक नागरिकले प्राप्त गर्न सक्दछन।
हरेक बालबालिका लाई आफ्नो भुगोल, इतिहास, संस्कृति, धर्म लगायतको ज्ञान र जीविकोपार्जनको लागि आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान नगरेसम्म नत हामीले देशप्रतिको मायाले ओतप्रोत भएका नागरिक उत्पादन गर्न सक्दछौँ । नत आफ्नो जमिनलाई उर्वर बनाउने सीप सिकाइ उद्यमी नै बनाउन सक्दछौ !
अतः २१ औं शताब्दीको प्रविधिमा आधारित सीप मुलक नागरिक उत्पादनको लागि छलफल हुनु पर्दछ। राज्य, सरकार, राजनैतिक दल तथा सम्वद्ध सवै सरोकारवाला निकायहरुलाई यसको सुनिश्चितताको लागि दवाव सृजना गरी सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने सीपमुलक नागरिक उत्पादन गर्ने शिक्षानीति हुनुपर्दछ।
-नामी साप्ताहिकबाट
प्रकाशित मिति: आइतबार, असार २७, २०७८ ०८:५३