काठमाडौं । आज एसईई परिक्षाकाे नतिजा सार्वजनिक हुने भएको छ।
आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने एसईई बोर्डको अन्तिम बैठकको निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएको हो ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार नतिजा प्रकाशनमा कुनै कमी-कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु, अंकलाई ग्रेडिङमा रुपान्तरण गर्नेलगायत काम सम्पन्न भइसकेको पनि वताए ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए। यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिइएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका-२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।
सोही व्यवस्थाअनुरुप विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनु पर्नेछ। हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्ने हुन्छ।
उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीहरु ननग्रेडिङमा पर्नेछन् र उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध नगराउने जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८१ ०७:५४