फुङ्लिङ, ताप्लेजुङ । एक वर्षको अवधिमा २ लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र २ हजार ७ सय ५६ जनाले देवीको दर्शन गरेको हो ।
आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा १ हजार १ सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए।
यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् ।
यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १ सय ६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ ।
समितिका अनुसार मङ्सिरमा २० हजार ४ सय १६, पुसमा पाँच हजार ६ सय ५५ र माघमा ६ हजार ४ सय १ जनाले पूजापाठ गरेका छन् ।
त्यस्तै फागुनमा १७ हजार ९ सय १२ र चैतमा ५२ हजार ४ सय ५५ भक्तजनले पूजापाठ गरेका छन्। जेठमा ८ हजार ६ सय २९ र असारमा २ हजार ७ सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।
तीन हजार ७ सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।
मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ। वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ ।
काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ ०७:५५