काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ।
सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी ४ जना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो।
प्रदेश संरचना कार्यान्वयन भएको साढे ६ वर्षमा कर्णालीमा माओवादीबाट २ जना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए। अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ ।
सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ ०७:५३