काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ।
आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर २ हजार ७ सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ।
नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ बराबरको कारोबार भएको छ।
आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो।
त्यस यता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।
आज ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख कित्ता शेयर २ लाख ३८ हजार २ सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये एक सय ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ ।
बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ।
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन इन्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ ।
यो कम्पनीको रु ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १६:५७