म्याग्दी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ ।
करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।
बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए।उनका अनुसार रु २४ लाख ७० हजार ७ सय ५० को लागतमा मन्दिर पुनःनिर्माण भएको हो।
“मन्दिर पुुनःनिर्माणका लागि १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म १३ लाख ३२ हजार ३ सय ६१ उपलब्ध गराएको छ”, अध्यक्ष गिरीले भने, “ ४ लाख ७४ हजार ७ सय ७ चन्दा सहयोग, १ लाख ११ हजार ७ सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ ।” २ लाख ८० हजार ८ सय ५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप १ लाख ६७ हजार ३ सय ३९ भुुक्तानी गर्न बाँकी छ ।
अन्नपूूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा ५ लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ ।
मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान् रामको मूर्ति राखिसकिएको छ। घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए।
हिन्दुु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ ०७:०२