काठमाडौ । हिजोआज नेपाली युवाहरुमा इ-सिगरेट यानी विद्युतीय चुरोटप्रति आकर्षण देखिन थालेको छ। चुरोटको विकल्पमा तथा चुरोट छाड्ने नाममा इ-सिगरेट यानी विद्युतीय चुरोटप्रति आकर्षण देखिन थालेको हो ।
यसको प्रयोग गर्दा आफूलाई स्टाइलिस्ट देखिन्छ भन्ने सोच पनि धेरैनेपाली युवा-युवतीको हुने गरेको छ। कतिपयले यो चुरोटजति हानिकारक हुँदैन र धुम्रपानको लत छाड्न पनि सहयोग गर्छ भनेर प्रयोग गर्ने गरेको पाइन्छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीको भनाइमा जुन भ्रम हो। इ-सिगरेट एक प्रकारको इलेक्ट्रोनिक इनहेलर हो, जसमा निकोटिन र अन्य रासायनिक तरल पदार्थ भरिन्छ। यो इनहेलरले ब्याट्रीको ऊर्जाबाट तरल पदार्थलाई बाफमा परिणत गर्छ ।
जसले गर्दा यो प्रयोग गर्नेलाई चुरोट पिएजस्तो लाग्छ । जसमा विभिन्न स्वाद पनि समावेश गरिएको हुन्छ । इ-सिगरेटमा प्रयोग हुने तरल पदार्थमा निकोटिन हुन्छ। यसमा खतरनाक रसायनहरू पनि हुन्छन्।
सामान्य चुरोटमा तम्बाकु र निकोटिन हुन्छ, जबकि इ-सिगरेटमा निकोटिनको मात्रा हुन्छ । निकोटिनको काम भनेको लत बसाउने हो। चुरोट जलाउँदा धुलोका कणहरू, विभिन्न प्रकारका रसायन र ग्यास निस्कन्छ।
इ-सिगरेटमा विभिन्न रासायनिक ग्याँसको केही मात्रामा कम हुन्छ । तर पछिल्लो समय विभिन्न अध्ययनले इ-सिगरेट पनि अन्य चुरोटजस्तै स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा उल्लेख गरेको छ ।
यूएस हेल्थ एण्ड ह्युमन साइन्सको रिपोर्टका अनुसार इ-सिगरेटले हाम्रो फोक्सोलाई धेरै प्रकारका केमिकलको सम्पर्कमा राख्छ। यसमा तरल तम्बाकु र फ्लेभर मिसाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्छ।
निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार इ-सिगरेट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ । यसको सेवनले ब्रोंकाइटिस फोक्सोको वायुमार्गको सुजन हुन्छ । दमको समस्या भएकाले यसको प्रयोग गर्दा समस्या झन् बढ्ने हुन्छ। यसको प्रयोग लामो समय गर्दा कालान्तरमा दम रोग निम्तने जोखिम समेत रहन्छ ।
इलेक्ट्रिक सिगरेट आफैंले पनि फोक्सोमा फाइब्रोसिस गराउँछ । फाइब्रोसिस भनेको फोक्सोको तन्तुहरूको आकार बढ्नु तथा दाग देख्नु हो। जसले फोक्सोलाई बिगार्छ र फोक्सोको क्यान्सर समेत हुन सक्छ ।
नेसनल हार्ट, लङ एण्ड ब्लड इन्स्टिच्युटका अनुसार इलेक्ट्रोनिक सिगरेटको अत्यधिक प्रयोगले शरीरको रक्तनलीलाई हानि पुर्याउँछ। यसले हृदयरोगको जोखिम बढाउँछ । यदि तपाईं धुम्रपान छोड्ने प्रयास गर्दा चुरोट र इ-सिगरेट दुवै प्रयोग गर्दै हुनुहुन्छ भने यो अझ ठूलो जोखिम कारक हुन सक्ने बताएको छ।
पहिले इ-सिगरेटको प्रयोग गरेर धुम्रपानको लत छोड्न सकिन्छ र इलेक्ट्रोनिक सिगरेटलाई पनि सजिलैसँग छोड्न सकिन्छ भनिन्थ्यो। तर अहिले यो इ-सिगरेट सुरक्षित छैन भनेर विभिन्न अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि यो अन्य चुरोटजतिकै हानिकारक छ भनेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ ०७:४५